वीरगन्ज । वीरगन्जमा झाडा–पखाला संक्रमितको संख्या पुनः बढ्दै गएको छ ।तीन दिनयता परेको अविरल वर्षापछि झाडा–पखालाबाट संक्रमित भई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना हुने विरामीको संख्या तीन गुणाले वृद्धि भएको हो ।गत भदौ २४ र २५ गतेसम्म प्रतिदिन औसतमा ४–५ जना नयाँ झाडा–पखालाका विरामी अस्पतालमा भर्ना भइरहेका थिए । तर पछिल्ला तीन दिनयता उक्त संख्या बढेर १५ देखि १८ जनासम्म पुगेको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिएका छन् । उनका अनुसार झाडा–पखालाबाट बच्न अपनाउनु पर्ने सावधानी नागरिकले पालना नगरेको कारण पछिल्लो समय विरामीको संख्या बढ्दै गएको हो ।अविरल वर्षाका कारण नालामा पानीको सतह बढ्नुका साथै लिक भएको पाइपलाइनमा दूषित पानी मिसिनु नै संक्रमित बढ्नुको कारण हुन सक्ने आशंका पनि उनले व्यक्त गरेका छन् । उनले भने, ‘विरामीले आवश्यक सावधानी नअपनाउँदा नयाँ संक्रमित थपिँदै गएका छन् भने निको भई घर फर्किएका विरामी समेत फेरि संक्रमित भएर अस्पताल भर्ना हुनुपरेको छ ।’एक साता अघि नारायणी अस्पतालमा उपचार गराई घर फर्किएकी वीरगन्ज–१२ मुर्लीकी ३५ वर्षीया महिला फेरि झाडा–पखालाबाटै संक्रमित भई अस्पताल भर्ना भएको पनि उनले जानकारी दिए । पुनः संक्रमित भएकी महिलालाई अस्पतालको मेडिकल वार्डमा राखी उपचार भइरहेको छ ।डा. सिंहका अनुसार नयाँ विरामी बढ्दै जानु र निको भएका विरामी समेत पुनः संक्रमित भई भर्ना हुनु गम्भीर चिन्ताको विषय हो । युवा पुस्ताको आन्दोलनका कारण वीरगन्जका कतिपय सरकारी कार्यालय तोडफोड भई सेवा प्रवाह रोकिएको अवस्थामा झाडा–पखालाका विरामी बढ्नु झन् चिन्ताजनक भएको उनको भनाई छ । वर्षा याममा नालाको सतह बढ्दा लिक भएका खानेपानी पाइपलाइनमा दूषित पानी मिसिने भएकाले झाडा–पखालाको प्रकोप बढ्ने गरेको पनि उनको भनाइ छ
प्रतिक्रिया