मुलुकको शान्ति सुव्यवस्था कायम गर्न सरकार असफल भयो : ओली

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको शान्ति सुव्यवस्था कायम गर्न सरकार असफल भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले खुलेआम राष्ट्रविरोधी, देशद्रोही कुरा गरेर हिडिरहँदा पनि सरकारले मुलुकको शान्ति सुव्यवस्था कायम गर्न नसकेको बताएका हुन् ।

उहाले देशलाई नै बिदेशीसामू बुझाउनुपर्ने अभिव्यक्ति दिएर एक हुल मान्छे हिड्दा सरकारले नसुनेको उल्लेख गरे । देशको सन्तान भन्न पनि नसुहाउने देशद्रोही कुरा गरेर हिड्नेलाई तत्काल नियन्त्रणमा लिनुपर्ने भन्दै ओलीले मुलुक विरोधी अभियान जारी रहे जनताले प्रतिवाद गर्नुपर्ने अवस्था आउने धारणा राखे । उनले एमाले सरकार छाडेपछि मुलुकको अर्थतन्त्र, सामाजिक र राजनीतिक अवस्था तहसनहस भएको बताए । ओलीले अहिले ऊर्जा व्यापार भन्दा पनि स्वदेशमा नै अत्याधिक खपतमा ध्यान दिनुपर्ने बताए ।