images

रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन के भने सांसदहरुले रु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसदहरूले आफ्नो भूमिका केवल बोल्नेमात्र नभई काममार्फत परिणाम दिनुपर्ने बताएका छन् ।रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद आशिका तामाङले सांसदको जिम्मेवारी भाषणमा सीमित नरहेको बताइन् । उनले जनताले ठूलो विश्वासका साथ जिताएको हुँदा बोल्दैमा मात्रै विकास, सुशासन वा भ्रष्टाचार अन्त्य सम्भव नहुने उल्लेख गरिन् । ‘सांसदको धेरै काम छ, पुरानो बेथिति अन्त्य गरी थिति बसाल्न हामी आएका हौँ,’ उनले भनिन् ।साथै आफू सिक्ने र अगाडि बढ्ने प्रक्रियामा रहेको पनि उनले स्पष्ट पारिन् । त्यसैगरी अर्का सांसद सागर ढकालले आफूहरू सबै विषयमा जानकार नभएको स्वीकार गर्दै प्रत्येकको आ–आफ्नो क्षेत्रमा विज्ञता रहेको बताए । उनले अभिमुखीकरण कार्यक्रममार्फत संसदीय अभ्यास सिक्दै देशका समस्या पहिचान गर्ने प्रयास भइरहेको जानकारी दिए । ‘देशलाई कसरी अगाडि बढाउने भन्ने विषयमा हामी नयाँ छौँ र सिक्दैछौँ, हामी के कुरामा सचेत छौं भन्दाखेरि हामी सबै कुरामा जान्ने छौं भन्ने होइन । हामी सबैको विज्ञता आ –आफ्नो क्षेत्रमा छ ।’ उनले भने ।यस्तै सांसद सुलभ खरेलले रास्वपाले जनताबाट अपेक्षाभन्दा बढी समर्थन पाएको भन्दै थप जिम्मेवारी महसुस गरेको बताए । उनले नीति तथा कानुन निर्माणमा विशेष जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै विगतका दलभन्दा फरक नतिजा दिन प्रतिबद्ध रहेको बताए । ‘कानुन संशोधन आवश्यक छ, र देश सुधारका लागि हामी सक्रिय छौँ, हामीले स्पष्ट बहुमत लिएर आएका छौं । हामीले विशेष गरेर नीति कानुन निर्माणमा अलि बढी काम गर्नुपर्नेछ । धेरै नै जिम्मेवारीबोध लिएको छु मैले। हिजोको भन्दा फरक नतिजा दिनुपर्छ भन्ने कुरामा हामी लागिरहेका छौं,’ उनले भने ।त्यसैगरी सांसद सुम्निमा उदासले अभिमुखीकरणमा सांसदहरुलाई बोल्ने कुरादेखि गरिने क्रियाकलापमा कसरी सचेत हुने भन्ने कुराहरुमा सचेत गाराइएको जानकारी दिइन् । अहिले सबैको नजरमा रास्वपाका सांसदहरु परेको कारण सबैलाई सचेत भएर काम गर्न आग्रह गरिएको उनको भनाई छ ।उनले भनिन्,‘अभिमुखीकरणमा हामीलाई धेरै कुरा सिकाइएको छ । अब हामी पब्लिक फिगर भयौं हरेक कुरालाई जिम्मेवारी पूर्वक निर्वाह गर्नुपर्छ भनेर हामीलाई सचेत गराउनुभएको छ । किनभने यो समयमा हामीलाई लेन्स लगाएर सबैले हेरिरहनुभएको छ । त्यसैले बोल्नेदेखि गरिने क्रियाकलापमा सचेत हुनुहोस् भन्नुभएको छ ।’ त्यस्तै उनले धेरै जसो सांसदहरु पहिलो पटक संसदमा जान लागेको कारणपनि यो अभिमुखिकरण कार्यक्रम प्रभावकारी भएको धारणा राखिन् । रास्वपाका सांसदहरूले समग्रमा देशको सुधार, सुशासन स्थापना र प्रभावकारी कानुन निर्माणलाई प्राथमिकतामा राख्दै अघि बढ्ने बताएका छन् ।

बुधबार ४ चैत २०८२ ०१:२६ PM मा प्रकाशित

प्रतिक्रिया