images

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग उज्यालो पार्टीको माग 

काठमाडौं । उज्यालो नेपाल पार्टीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । पार्टीले बुधबार एक विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनसँग सम्बन्धित घटनाक्रमबारे सत्य तथ्य सार्वजनिक गर्न ढिलाइ हुनु लोकतान्त्रिक मूल्य विपरीत भएको जनाएको हो ।पार्टीका अनुसार उक्त आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको भए पनि हालसम्म सार्वजनिक नगरिनु ‘दुःखद र चिन्ताजनक’ छ । प्रतिवेदन गोप्य राख्दा नागरिकमा अन्योल, शंका तथा राज्यप्रतिको अविश्वास बढ्ने चेतावनी दिँदै पार्टीले पीडित, घाइते र मृतकका परिवारले सत्य, न्याय र जबाफदेहिताको अपेक्षा गरिरहेको उल्लेख गरेको छ ।आयोगका प्रतिवेदन केवल सरकारी फाइलमा सीमित रहने कागज नभई सार्वजनिक सरोकार, संस्थागत सुधार र जिम्मेवारी निर्धारणको आधार बन्नुपर्ने दस्ताबेज भएको उल्लेख गरेको छ ।“सत्य सार्वजनिक गरेर मात्र न्याय, सुधार र सामाजिक विश्वासको मार्ग खुल्छ,’ पार्टीको धारणा छ ।पार्टीले सरकारसमक्ष पाँचबुँदे माग पनि अघि सारेको छ, जसमा प्रतिवेदन तत्काल सार्वजनिक गर्ने, ढिलाइ भएको भए कारण र समय सीमा स्पष्ट पार्ने, निष्कर्षका आधारमा जिम्मेवारमाथि कानुनी कारबाही अघि बढाउने, पीडितलाई न्याय र परिपूरणको अनुभूति गराउने तथा भविष्यमा यस्ता घटना नदोहरिने गरी सुरक्षा संयन्त्रमा सुधार गर्ने विषय समावेश छन् ।पार्टीका प्रवक्ता डा राजु थापाले यस विषयलाई केवल प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्ने प्रश्न नभई लोकतान्त्रिक शासन, सार्वजनिक उत्तरदायित्व र नागरिक विश्वाससँग जोडिएको गम्भीर मुद्दा भएको बताएका छन् । उनले सरकारलाई यथाशीघ्र प्रतिवेदन सार्वजनिक गरी दोषीमाथि कडा कारबाही गर्न आग्रह गरेका छन् ।

बुधबार ४ चैत २०८२ १२:२९ PM मा प्रकाशित

प्रतिक्रिया