भवानी भट्ट/ टोकियो ।
नेपालमा उत्पादित ‘हाईलाइफ’ ब्रान्डका विभिन्न खाद्य उत्पादन जापानी बजारमा प्रवेश गर्ने भएका छन् । नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने उद्देश्यसहित पूर्ण ट्रेडिङ जापानले हाईलाइफका खाद्य सामग्री जापानमा आयात तथा बजारीकरण गर्न लागेको हो। नेपाली उत्पादनको बजार विस्तार गर्दै आएको पूर्ण ट्रेडिङले हाईलाइफका विभिन्न उत्पादन जापानमा रहेका नेपाली समुदायसँगै जापानी तथा अन्य विदेशी उपभोक्तामाझ पुर्याउने लक्ष्य लिएको जनाएको छ।

यसै क्रममा पूर्ण ट्रेडिङ जापानले सोमबार टोकियोमा विशेष कार्यक्रम आयोजना गरी हाईलाइफ ब्रान्डका उत्पादन तथा जापानी बजारमा यसको बजारीकरण योजनाबारे जानकारी गराएको थियो। वरिष्ठ कलाकार निमा रुम्बाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हाईलाइफ कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेल, निर्देशक पंकज ज्ञवाली र निर्देशक सन्दिप शाहसहित जापानमा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, बुद्धिजीवी, व्यवसायी, सामाजिक अभियन्ता, सञ्चारकर्मी, एनआरएनए जापानका प्रतिनिधि तथा नेपाली समुदायका अगुवाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाली स्वादका खाद्य सामग्रीलाई जापानको बजारमा विस्तार गर्ने योजनाबारे जानकारी दिँदै हाईलाइफका प्रतिनिधिहरूले उत्पादनको गुणस्तर, बजार विस्तार तथा नेपाली उत्पादनको अन्तर्राष्ट्रिय प्रवर्द्धनका विषयमा धारणा राखेका थिए। कार्यक्रममा सहभागीहरूले नेपाली उत्पादनलाई जापानजस्तो प्रतिस्पर्धात्मक बजारमा प्रवेश गराउनु सकारात्मक प्रयास भएको बताउँदै उत्पादनको गुणस्तर, प्याकेजिङ, बजार व्यवस्थापन तथा दीर्घकालीन बजारीकरणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए।

हाईलाइफ ब्रान्डअन्तर्गत बासमती चामल, क्रिस्पी बेटेन राइस, पिठो, सोयाबिन मस्यौरा, कुरुम कुरुम चिउरा, बेसन, सुजी, पपिट्स लगायत विभिन्न खाद्य सामग्री रहेका छन्। नेपाली स्वाद र उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएका यी उत्पादन जापानमा रहेका नेपाली समुदायमा मात्र सीमित नराखी जापानी उपभोक्तामाझ समेत पुर्याउने योजना रहेको पूर्ण ट्रेडिङले जनाएको छ।
जापानमा नेपाली खाद्य उत्पादनको माग बढ्दै गए पनि नेपाली ब्रान्डलाई जापानी उपभोक्तासम्म पुर्याउने र दीर्घकालीन रूपमा बजारमा स्थापित गर्ने चुनौती रहँदै आएको छ। यस्तो अवस्थामा हाईलाइफको जापानी बजार प्रवेशलाई नेपाली खाद्य उत्पादनको अन्तर्राष्ट्रिय विस्तारका लागि महत्वपूर्ण पहलका रूपमा लिइएको छ। पूर्ण ट्रेडिङ जापानका प्रमुख कार्यकारी अधिकृत टीका श्रेष्ठले हाईलाइफका उत्पादन जापान ल्याउने पहल कम्पनीका लागि विशेष रहेको बताउनुभयो।
नेपाली उत्पादनको गुणस्तर र मौलिकतालाई जापानी बजारमा परिचित गराउँदै क्रमशः बजार विस्तार गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो। नेपाली उत्पादनलाई नेपाली समुदायमा मात्र सीमित नराखी जापानी उपभोक्तासम्म पुर्याउने हाम्रो लक्ष्य हो,श्रेष्ठले भन्नुभयो, गुणस्तरीय नेपाली उत्पादनमार्फत जापानमा नेपाली स्वाद र उत्पादनको पहिचान स्थापित गर्ने प्रयास हुनेछ।
पूर्ण ट्रेडिङका अनुसार प्रारम्भिक चरणमा जापानमा रहेका नेपाली उपभोक्तालाई लक्षित गर्दै बजार विस्तार गरिनेछ भने क्रमशः जापानी तथा अन्य विदेशी उपभोक्तामाझ समेत हाईलाइफका उत्पादन पुर्याउने योजना बनाइएको छ। नेपालमा उत्पादन भएका खाद्य सामग्रीलाई जापानको बजारसम्म पुर्याउने यस पहलले नेपाली उत्पादनको निर्यात, ब्रान्ड प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजार विस्तारका लागि नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया