असोज २, काठमाडौं । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता एवं महासमिति सदस्य हरिबोल भण्डारीको तेह्राै दिनकाे पुण्य तिथिमा राजधानीमा शोक तथा श्रद्धाञ्जली सभा आयोजना गरिने भएको छ । यही असोज ५ गते आइतवार राजधानीको जोरपाटी ओरालोस्थित पिस ब्याङ्क्येटमा विहान आठ बजेदेखि शुरु हुने गरी भण्डारीको स्मृतिमा शोक तथा श्रद्धाञ्जली सभा आयोजना गर्न लागिएको हो । कार्यक्रममा नेपाली कांग्रेसको संगठन सुदृढीकरण सहित समाज सेवाको क्षेत्रमा स्वर्गिय भण्डारीले दिनु भएको विशिष्ट योगदानको स्मरण गरिने भएको छ । सभामा सहभागिताका लागि भण्डारी परिवार सहित नेपाली कांग्रेस क्षेत्र नम्बर तीन काठमाडौंले सम्बन्धित सबैमा अनुरोध गरेको छ । काठमाडौं जोरपाटी नारायणटार स्थायी घर भई हाल अमेरिकाको डालासमा बसोबास गर्दै आउनु भएका भण्डारीको भाद्र २४ गते डालासस्थित निवासमा निधन भएको थियो । गैरआवासीय नेपाली संघ, नेपाली जनसम्पर्क समिति अमेरिका लगायतका संस्थाहरूमा लामो समयदेखि क्रियाशील रहँदै आउनु भएका भण्डारी नेपाली कांग्रेस भित्र बलियो अन्तर्राष्ट्रिय सम्बन्ध भएका पात्रको रुपमा सुपरिचित हुनुहुन्थ्यो । नेविसंघ, तरुण दल हुँदै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भण्डारीले क्षेत्रीय स्तरमा महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्य निर्वाचनमा अत्याधिक मत हासिल गर्दै आउनु भएको थियो । मृदुभाषी, मिलनसार एवं सहयोगी पात्रको रुपमा सबै उमेर समुहका व्यक्तिहरूबीच उत्तिकै लोकप्रिय भण्डारीका श्रीमती र दुई सुपुत्र हुनुहुन्छ ।
प्रतिक्रिया