प्रतिनिधिसभाको बैठक आज बस्दै : बेपत्ता व्यक्तिको छानबिनसम्बन्धी विधेयक पेस गर्दै प्रधानमन्त्री !

काठमाण्डौँ - प्रतिनिधिसभाको बैठक आज बस्दै छ । पहिलो अधिवेशनको १४औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउनेछन् ।

सभामुखले नेपालको संविधानको धारा ६२ को उपधारा ६ बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको व्यहोरा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१२ को १ बमोजिम जानकारी गराउने सम्भावित कार्यसूची छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९’ पेस गर्नेछन् ।

उनले नै ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, २०७९’ पनि पेस गर्नेलगायत सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।