इटहरी । नयन एड्भरटाइजिङ मिडिया प्रालिद्वारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरले आफ्नो स्थापनाको तीन वर्ष प्रवेश गरेको छ । उक्त अवसरमा बुधबार साँझ इटहरीस्थित सोल्टी वेस्टेन्डमा एक भव्य समारोह आयोजना गरिएको थियो । जसमा ‘कोशी एक्सिलेन्स अवार्ड’मा १३ विधाका व्यक्तिहरूलाई विभूषित गरिएको छ । शिक्षा विधातर्फ प्राडा टंकप्रसाद न्यौपाने, स्वास्थ्य विधातर्फ डा।ज्ञानेन्द्रमान सिंह कार्की, पत्रकारितातर्फ विष्णु निष्ठुरी, साहित्य विधातर्फ झमक घिमिरे, सामाजिक विधातर्फ गीता गौतमलाई अवार्ड प्रदान गरिएको हो । यस्तै, कृषि तथा महिला उद्यम विधाबाट शान्ता बास्कोटा, खेलकुद विधातर्फ दिलीप राई, बैंकिङ बिधातर्फ ज्ञानेन्द्रप्रसाद ढुंगाना, पर्यटन विधातर्फ भविष श्रेष्ठ, सूचना तथा प्रविधि विधातर्फ राजन लम्साल, कर्पोरेट विधाबाट महेश जाजु, युवा उद्यम विधाबाट पारस लुनियाँ र स्टार्टअप विधामा आयुष भगतलाई अवार्ड प्रदान गरिएको हो । वरिष्ठ भाषाविद् प्राडा न्यौपाने नेपाल बाहिर भएका कारण उनको अवार्ड डा। टोलानाथ काफ्लेले ग्रहण गरे । यसैगरी साहित्यकार घिमिरेको स्वास्थ्य अवस्था कमजोर भएका कारण उनको अवार्ड शिक्षासेवी लेखनाथ घिमिरेले ग्रहण गरे । यसैगरी युवा उद्यमी पारस लुनियाँ नेपाल बाहिर भएका कारण उनका प्रतिनिधि कपिल रेग्मीले अवार्ड ग्रहण गरेका थिए । १३ जनालाई नै कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले ट्रफी र विभूषण पत्र हस्तान्तरण गरे । यसैगरी वार्षिकोत्सवको अवसर पारेर १२ जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल सरकारका प्रथम महिला मुख्यसचिव लीलादेवी गड्तौला, श्रमजीवी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अध्यक्ष भीमज्वाला राई छन् । यस्तै, इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकमारी लिम्बू ९दहाल०, अग्रज पत्रकार गोविन्द चन्द्र क्षेत्री, शिक्षासेवी चन्द्र भण्डारी, टाइम्स पब्लिकेशनका पुरुषोत्तम दाहाल, नेपालमा सबैभन्दा अग्ला व्यक्तिका रूपमा परिचय स्थापित गराउने राजन अधिकारी र पर्यटन व्यावसायी सुनील भुसाल रहेका छन् । यस्तै, संस्थाहरू कामधेनु दूग्ध विकास सहकारी संस्था लिमिटेडका अध्यक्ष यादव ढकाल, माया घर नेपालकी अध्यक्ष शुभद्रा प्याकुरेल र नव दृष्टि आँखा अस्पतालका विजय गौतमलाई सम्मान गरिएको हो । कम्पनीका अध्यक्ष पवन अधिकारीका अनुसार अवार्ड प्राप्त गर्ने व्यक्तिका लागि निर्णायक समिति समेत चयन गरिएको थियो । उक्त समितिले सिफारिस गरेका आधारमा छनोट गरिएको उनले जनाए । साथै, सोही कार्यक्रमको अवसर पारेर सुनसरीका तीन सय जना सञ्चारकर्मीहरूको एनएलजी इन्स्योरेन्ससँग निःशुल्क दुर्घटना बीमाका लागि सम्झौता हस्तान्तरण गरियो । एनएलजी इन्स्योरेन्स इटहरीका वरिष्ठ अधिकृत भेषराज थापालाई सञ्चारकर्मीको नामावली बुझाइएको थियो । ‘सञ्चारकर्मीहरू जहिल्यै पनि अफ्टयारोमा पर्ने र सुरक्षाका सवालमा राज्यले पनि काम नगरिरहेको अवस्थामा हामीले दुर्घटना बीमा गरेका हौँ,’ अधिकारीले भने, ‘सुनसरीका सञ्चारकर्मी र प्रदेश खबरका विभिन्न जिल्लाका केही संवाददातासहित जम्मा तीन सय जनाको दुर्घटना बीमाका लागि सम्झौता गरेका हौँ ।’
उनका अनुसार बीमा सम्झौता एक वर्षको रहनेछ । यसबीचमा कोही दुर्घटना परिहालेको अवस्थामा एक लाख रुपैयाँसम्म उपचार खर्च प्राप्त गर्न सकिने उनले जनाए । साथै, कार्यक्रममा सम्मानित व्यक्तिबाट पूर्व मुख्यसचिव लीलादेवी गड्तौलाले सम्बोधन गरेकी थिइन् भने अवार्ड प्राप्त गर्ने व्यक्तिबाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत रहेका विष्णु निष्ठुरीले सम्बोधन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सम्बोधन गर्दै प्रदेश खबरले विभिन्न विधाका १३ जनालाई अवार्ड प्रदान गर्नु आफैँमा सकारात्मक रहेको बताए । उनले भने, ‘स्थापनाको दोस्रो वर्ष पूरा गरेकै अवसरमा यसरी अवार्ड प्रदान गर्नु र सम्मान गर्नु आफैँमा सकारात्मक काम हो । अवार्ड प्राप्त गर्ने सबै व्यक्ति योग्य हुनुहुन्छ ।’ एउटा मिडियाले नै यो किसिमको कार्यक्रम आयोजना गर्नु उत्साहजनक रहेको उनको भनाइ छ । ‘यस्तो व्यक्तित्वहरूलाई सम्मान गर्नुभयो र मैले वितरण गर्ने मौका पाएँ,’ मुख्यमन्त्री कार्कीले भने, ‘हुन त मैले अहिलेसम्म कुनै पाप गरेको छैन, त्यो पाप गरेको थिएँ भने पनि आजबाट मुक्त हुने भयो ।’ मुख्यमन्त्री कार्कीले जनताले प्रदेश चाहिन्छ भन्नेगरी काम गरिराखेको बताए । प्रदेश सरकारको स्रोत कमजोर भएपनि निजी क्षेत्रसँग समन्वय गरेर काम गरिरहेको उनले जनाए । प्रदेश सरकारले २०८२ सालमा लगानी सम्मेलन गर्ने र भ्रमण वर्षसमेत मनाउने भएका निजी क्षेत्र र खासगरी मिडियाले सहयोग गर्नुपर्ने उनको भनाइ छ । कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य राजीव ढुङ्गानाले प्रदेशमा रहेका उत्कृष्ट प्रतिभालाई सम्मान गर्नु सुखद रहेको बताए । ‘हाम्रो प्रदेशमा पर्यटनका प्रचुर सम्भावना छन् । धार्मिक पर्यटनका सम्भावना पनि छन्,’ उनले भने, ‘उद्योगका क्षेत्रमा विराटनगर मात्रै होइन । कृषिमा सुनसरी, मोरङ र झापा मात्रै होइन, पहाडी जिल्लालाई पनि प्राथमिकतामा राखेर सरकारले काम गर्नुपर्छ ।’
नेपालको सबैभन्दा अब्बल प्रदेश बनाउन सरकारसहित निजी क्षेत्रको पनि साथ आवश्यक पर्ने उनले जनाए ।
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् प्रवक्ता रेवतीरमण भण्डारीले प्रदेश सरकारले ल्याएको आमसञ्चार विधेयकले पत्रकारलाई कुनै पनि हानी नहुने बताए । ‘सुशासनका समस्यालाई सच्याएर अगाडि बढ्न आवश्यक छ । तर, आमसञ्चार विधेयकमा कोशी प्रदेश सरकारविरूद्व पत्रकार महासंघ आन्दोलित हुनुपर्दैन,’ उनले भने, ‘जुनसुकै विषयमा पनि प्रशस्तै छलफल होस् । प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिवद्व छ ।’ प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले २०८२ मा भ्रमण वर्ष मनाउन लागिरहेकाले सफल बनाउन आह्वान गरे । ‘आजको यो कार्यक्रमले कोशी प्रदेशमा जन्मिएर नेपालमै लुकेका प्रतिभालाई सम्मान गर्नुभएकोमा खुशी लागेको छ,’ उनले भने, ‘यो कार्यक्रमले केही हदसम्म भएपनि कोशीको पर्यटनलाई चिनाउने विश्वास लिएको छु ।’ नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले पत्रकारहरूको निःशुल्क दुर्घटना बीमा गरेकोप्रति खुशी व्यक्त गरे । ‘संघीय सरकारले देशभरबाट जम्मा ७७ जनाको स्वास्थ्य बीमा गरेको छ । तर, एउटा मिडिया हाउसले तीन सयजनाको दुर्घटना बीमा गर्नु भनेको सरकारलाई चुनौती हो,’ उनले भने, ‘पत्रकारहरूको सुरक्षाका सवालमा राज्य गम्भीर हुनुपर्छ भनेर महासंघले पटकपटक छलफल गरेपनि लागू भएको छैन ।’ खासगरी प्रदेश सरकारले ल्याएको विधेयक प्रेस स्वतन्त्रतामैत्री नभएकोमा आपत्ति जनाए । ‘विधेयक सच्चियोस्, नभए पत्रकार महासंघ सडकमा आउन बाध्य हुनेछ,’ उनले भने । पत्रकार महासंघ कोशीका अध्यक्ष भरत खड्काले पत्रकारहरूका स्वास्थ्य बीमाका विषयमा पटकपटक आवाज उठाइरहेको बताए । ‘पत्रकारहरूले समाचार मात्रै लेख्दैनन्, ती व्यक्तिको सम्मान गर्ने र राज्यका हरेक निकायलाई जिम्मेवार बनाउन हाम्रो कलम चल्छ,’ उनले भने, ‘आज विधागत क्षेत्रमा जसरी अवार्ड प्रदान गरियो, यो राज्यले गर्नुपर्ने काम हो । यसले राज्यलाई एउटा मार्गचित्र गरेको छ ।’ पत्रकारका समस्या र चुनौती थपिदैँ गएको र एउटा डिजिटल पत्रिकाले नै यो किसिमको कार्यक्रम गरेकोमा प्रशंसा व्यक्त गरे । मिडियालाई उद्योगका रूपमा स्थापित गर्न आवश्यक रहेको उनको भनाइ छ । कार्यक्रम संयोजक विवेक रेग्मीले विभिन्न क्षेत्रमा काम गरिरहेकाहरूलाई उक्त अवार्डका कारण प्रोत्साहन मिल्ने बताए । ‘अग्रजको सम्मान र आउने पुस्ताका निम्ति प्रोत्साहनका निम्ति पनि यो कार्यक्रम आयोजना गरिएको हो,’ उनले भने, ‘खासगरी कोशी प्रदेश सरकारले २०८२ साललाई भ्रमण वर्षका रूपमा मनाउन लागिरहेको अवसरमा यो कार्यक्रमले पनि कोशीका केही हदसम्म पर्यटनलाई चिनाउनका निम्ति भूमिका खेल्ने विश्वास लिएको छु ।’
इटहरीस्थित सन्तोष धमलाले नेतृत्व गरेको काफल्सले कार्यक्रमको व्यवस्थापन गरेको थियो । उक्त कार्यक्रममा नेपाल क्लियरिङ हाउसले मुख्य प्रायोजन गरेको थियो भने तीन सय भन्दा बढी व्यक्तिहरू उपस्थित थिए ।
प्रतिक्रिया