images

यस्तो छ कर्णालीको निर्वाचन लक्षित सुरक्षा योजना

सुर्खेत । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कर्णालीको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै सुरक्षा रणनीति बनाइएको छ ।निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित बनाउन आवश्यक सुरक्षा योजना बनाइएको प्रहरीले जनाएको छ । कर्णालीमा नेपाल प्रहरीले सोही अनुसार आवश्यक जनशक्ति परिचालन गरेको जनाएको छ ।कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार मतदान केन्द्रको संवेदनशीलता मूल्याङ्कन गरी सुरक्षाकर्मी खटाउने योजना बनाएको छ ।निर्वाचन सुरक्षाका लागि कर्णालीमा १४ हजार ७ सय १९ जना बढी प्रहरी जनशक्ति निर्वाचनमा खटिने प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सीमावर्ती क्षेत्र तथा विगतमा विवाद देखिएका स्थानमा विशेष निगरानी बढाइएको छ भने कर्णालीको भूगोललगायत अन्य कारणले केही चुनौती देखिएका स्थानहरुमा थप जनशक्तिको लागि केन्द्रमा माग गरिएको जनाइएको छ ।कर्णालीमा ६ सय बढी प्रहरी जनशक्ति अपुग भएपछि त्यसको पूर्ति गर्न केन्द्रसँग माग गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता रामप्रकाश शाहले जानकारी दिए ।

कर्णालीका कतिपय स्थानमा सडकको अवस्था राम्रो नहुँदा निर्वाचन गराउन र मतपेटिका ल्याउनेबेला हुनसक्ने समस्यालाई मध्यनजर गरी सोहीअनुसार तयारी गरिएको छ । अति संवेदनशील केन्द्रहरूमा सुरक्षाको विशेष व्यवस्था गरिने प्रहरीले जनाएको छ ।प्रदेशका हिमाली तथा दुर्गम जिल्लामा भौगोलिक कठिनाइ, विगतका निर्वाचनमा भएका विवाद, राजनीतिक प्रतिस्पर्धा र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मतदान केन्द्रको वर्गीकरण गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । कर्णालीका विभिन्न जिल्लामा रहेका अन्य मतदान केन्द्रहरूलाई संवेदनशील र सामान्य श्रेणीमा पनि राखिएको छ ।

अतिसंवेदनशील केन्द्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा आवश्यक परे नेपाली सेनाको समेत परिचालन गरिने तयारी गरिएको छ ।कर्णालीमा ९४१ मतदानस्थल र एक हजार ४३७ मतदान केन्द्र रहेका छन्, भने प्रदेशभर मतदाता १० लाख ३७ हजार २५० जना छन् । प्रहरीले प्रदेशका १० जिल्लामा ३५१ मतदानस्थलका ४४१ मतदान केन्द्रलाई अति संवेदनशील सुचीमा राखेको छ । निर्वाचनलाई लक्षित गर्दै सुरक्षा निकायले जोखिम मूल्यांकन गरेपछि ती मतदान केन्द्रलाई अतिसंवेदनशील घोषणा गरिएको हो ।प्रदेश प्रहरी कार्यालयले प्रदेशका एक हजार ४३७ मतदान केन्द्रमध्ये ३०१ सामान्य र ६५१ संवेदनशील सूचीमा राखेको छ ।

सोही अनुसार जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत सरोकारवाला निकायले मतदानस्थल अनुगमनलाई पनि तीव्र बनाएका छन् ।कर्णालीमा अन्य जिल्लाको तुलनामा डोल्पाका अधिकांश स्थानमा निर्वाचन व्यवस्थापनका लागि हेलिकप्टरकै भर पर्नुपर्ने बाध्यता रहेको छ । भौगोलिक विकटताका कारण अधिकांश मतदान केन्द्रका लागि हेलिकप्टरकै सहायता लिनुपर्ने बाध्यता रहेको हो ।

निर्वाचनलाई लक्षित गर्दै मतदान सामग्री, सुरक्षाकर्मी तथा निर्वाचन कर्मचारी ओसारपोसार गर्न हेलिकप्टरकै भर पर्नुपर्ने स्थिती रहेको जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठले बताए ।उनका अनुसार भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण माथिल्लो डोल्पाका २३ मतदान केन्द्रमा निर्वाचन व्यवस्थापनका लागि हेलिकप्टर प्रयोग गर्नैपर्ने बाध्यता रहेको छ । उत्तरी क्षेत्रमा पर्ने माथिल्लो डोल्पाका शे–फोक्सुण्डो, छार्का ताङ्सोङ र डोल्पोबुद्धका बस्तीहरूमा सडक पहुँच नहुँदा पैदल यात्रा गर्नुपर्ने बाध्यता छ ।

शनिबार ९ फागुन २०८२ ०१:५५ PM मा प्रकाशित

प्रतिक्रिया