images

मतदान प्रभावकारी बनाउन नमुना अभ्यास

सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी जिल्लामा नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय कालीकोट र मुख्य निर्वाचन कार्यालयले संयुक्त रूपमा नमुना मतदान आयोजना गरेको हो ।निर्वाचनका दिन मतदाता तथा कर्मचारीले अपनाउनुपर्ने प्रक्रियाको अभ्यास गराउने उद्देश्यले नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । विगतका निर्वाचनमा देखिएको मत बदरको समस्या न्यूनीकरण गर्नुकासाथै मतदातालाई सही तरिकाले मतदान गर्ने विधिबारेजानकारी गराउने लक्ष्यसहित नमुना मतदान गरिएको हो ।प्रत्यक्षतर्फ र समानुपातिकतर्फ गरी दुई छुट्टाछुट्टै मतपत्रमा छाप लगाउने तरिका सिकाइएको थियो ।

मतदाताले मतपत्र कसरी बुझ्ने, स्वस्तिक छाप कहाँ र कसरी लगाउने, गोप्य कक्षमा प्रवेश गर्दाध्यान दिनुपर्ने विषय,मतपत्र मोड्ने तरिका तथा मतपेटिकामा सुरक्षित रूपमा खसाल्ने प्रक्रिया चरणबद्ध रूपमा अभ्यास गराइएको थियो ।नमुना मतदानलाई वास्तविक निर्वाचनकै स्वरूप दिन महिला, पुरुष, ज्येष्ठ नागरिक तथा अशक्त मतदाताका लागि छुट्टाछुट्टै तीन लाइनको व्यवस्था गरिएको थियो । मतदान अधिकृत, सहायक कर्मचारी तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

मतदानका क्रममा हुन सक्ने सम्भावित विवाद, मतपत्र च्यातिने वा बिग्रिने अवस्था, मतदाताको पहिचानसम्बन्धी जिज्ञासा, लाइन व्यवस्थापन तथा सुरक्षा समन्वयजस्ता विषयमा पनि अभ्यास गराइएको थियो ।साथै मतदान केन्द्रमा खटिने कर्मचारीहरूको जिम्मेवारी, भूमिकाविभाजन र आपसी समन्वयबारे समेत छलफल गरिएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत टंकबहादुर थापाले जानकारी दिए ।प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुयलले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन नमुना मतदान अत्यन्त उपयोगी हुने बताए । उनले मतदातालाई सही तरिकाले मतदानगर्न आग्रह गर्दै बदर मत न्यूनीकरणमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे ।

शनिबार ९ फागुन २०८२ ०१:५७ PM मा प्रकाशित

प्रतिक्रिया