images

नेपाल–भारत आर्थिक सहकार्यलाई परिणाममुखी बनाउन ढकालको आह्वान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भारत आर्थिक सहकार्यलाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन् । भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको ‘दोस्रो इन्डो–नेपाल व्यापार महोत्सव २०२६’ लाई शुक्रबार सम्बोधन गर्दै उनले दुई देशबीचको व्यापार र लगानी सहकार्यलाई व्यवहारिक उपलब्धिमा रूपान्तरण गर्न आग्रह गरेका हुन् ।अध्यक्ष ढकालले नेपाल–भारतबीच सहज भन्सार प्रक्रिया, मापदण्ड समन्वय, डिजिटल व्यापार प्रणाली सुदृढीकरण तथा साना–मझौला उद्योगलाई वित्तीय पहुँच र प्रविधि हस्तान्तरणमा सहजीकरण आवश्यक रहेको बताए । उनले भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार र प्रमुख लगानी स्रोत रहेको उल्लेख गर्दै खुला सीमा, सांस्कृतिक निकटता र जनस्तरको सम्बन्धले दुई देशबीचको साझेदारीलाई विशिष्ट बनाएको धारणा राखे ।विश्व अर्थतन्त्र अनिश्चितता र आपूर्ति शृङ्खलामा अवरोधको अवस्थाबाट गुज्रिरहेको सन्दर्भमा छिमेकी राष्ट्रबीच सहकार्य अझ सुदृढ गर्नुपर्ने उनले बताए । भारतको हालैको केन्द्रीय बजेटले पूर्वाधार, डिजिटल कनेक्टिभिटी, हरित ऊर्जा तथा साना–मझौला उद्योग प्रवद्र्धनमा दिएको प्राथमिकताले नेपालका लागि समेत नयाँ अवसर सिर्जना गर्ने उनको भनाइ थियो ।ढकालले नेपाल जलविद्युतमा समृद्ध देश भएको र भारततर्फ विद्युत निर्यात सुरु भइसकेको जानकारी दिँदै उपयुक्त प्रसारण लाइन विस्तार तथा नीतिगत स्थायित्व भएमा नेपाल भारतको विश्वासिलो हरित ऊर्जा साझेदार बन्न सक्ने बताए । पर्यटन क्षेत्रतर्फ संकेत गर्दै उनले नेपालले प्राकृतिक सौन्दर्य, साहसिक तथा आध्यात्मिक गन्तव्यहरू प्रस्तुत गरिरहेको उल्लेख गरे। होटल, रिसोर्ट तथा केबलकार परियोजनाहरूमा लगानीको अवसर विस्तार भइरहेको जानकारी दिँदै उनले ऊर्जा, पर्यटन, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सीमापार लजिस्टिक्स, कृषि प्रशोधन, औषधि उद्योग, शिक्षा र स्वास्थ्य सेवामा प्रशस्त सम्भावना रहेको बताए ।“नेपालमा ऊर्जा, पर्यटन, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सीमापार लजिस्टिक्स, कृषि प्रशोधन, औषधि उद्योग, शिक्षा र स्वास्थ्य सेवामा उल्लेखनीय सम्भावना छ । यस्ता क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्तालाई आग्रह गर्दछु,” उनले भने ।नेपालको निजी क्षेत्र सधैं राजनीतिक स्थायित्व र आर्थिक अनुशासनको पक्षमा उभिँदै आएको उल्लेख गर्दै उनले दीर्घकालीन रूपमा लगानीकर्ताको विश्वास कायम गर्ने दिशामा नीतिगत सुधारहरू भइरहेको जानकारी दिए । अध्यक्ष ढकालले इन्डो–नेपाल व्यापारमहोत्सव केवल औपचारिक कार्यक्रम नभई सद्भावनालाई व्यवसायिक साझेदारीमा रूपान्तरण गर्ने प्रभावकारी मञ्च भएको उल्लेख गरे ।उनले हरित ऊर्जा, डिजिटल सेवा, पर्यटन र उत्पादन क्षेत्रमा ठोस सहकार्य अघि बढाउन भारतीय उद्योगी–व्यवसायी तथा लगानीकर्तालाई आह्वान गर्दै राजनीतिक इच्छाशक्ति, नीतिगत स्थायित्व र आपसी विश्वासका आधारमा इन्डो–नेपाल आर्थिक सहकार्यलाई नयाँ उचाइमा पु¥याउन सकिने विश्वास व्यक्त गरे ।

शनिबार ९ फागुन २०८२ ०१:२३ PM मा प्रकाशित

प्रतिक्रिया