काठमाडौँ । अरुणिमा शैक्षिक प्रतिष्ठानको आयोजनामा शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि स्वागत तथा कक्षा १२ को बोर्ड परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि बिदाई एवं सम्मान समारोह भव्यताका साथ सम्पन्न भएको छ । उक्त विशेष समारोहको समुद्घाटन विज्ञान संकायका प्रमुख श्री श्यामलाल घिसिङ तथा कक्षा १२ का विद्यार्थीद्वय रोसन सुनार र अर्पणा मोक्तानले संयुक्त रुपमा संचालन गर्नुभएको थियो । अरुणिमा शैक्षिक प्रतिष्ठान सञ्चालक समितिका सदस्य एवं अरुणिमा परोपकार प्रतिष्ठानका अध्यक्ष श्री शम्भुप्रसाद बडालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रतिष्ठानका कार्यकारी प्रधानाध्यापक श्री ईश्वरीप्रसाद लामिछाने, गोपाल बराल, सुभद्रा फुँयाल, अर्जुन शाक्य, प्रतिष्ठानका गुठियारहरू, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, अरुणिमा शिक्षा सदनका प्रधानाध्यापक शोभा खनाल, शिक्षक–कर्मचारीहरूको गरिमामय उपस्थिति रहेको थियो । कार्यक्रम अध्यक्ष तथा अन्य अतिथिहरुको संयुक्त हातहरुबाट पानसमा दियो बालेर राष्ट्रिय गानको उच्च ध्यनीसँगै कार्यक्रम सुरुवात भएको थियो ।
उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान
कार्यक्रममा माध्यमिक तह (कक्षा १२) को राष्ट्रिय परीक्षामा उत्कृष्ट नतिजा ल्याई विद्यालयको गरिमा र गौरव बढाउने विद्यार्थीहरूलाई खादा, अबिर र मायाको चिनोसहित विशेष सम्मान र बधाई प्रदान गरिएको थियो । कार्यक्रमका अध्यक्ष शम्भुप्रसाद बडाल, नव अरुणिमा व्यवस्थापनका अध्यक्ष गोपाल बराल, कार्यकारी प्रधानाध्यापक ईश्वरीप्रसाद लामिछाने, क्याम्पस प्रमुख केशवप्रसाद जोशी लगायतका अतिथिहरूले उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो । सो अवसरमा विज्ञान संकायबाट ३.८६ जी.पि.ए ल्याई विद्यालय टपर हुनुभएका छात्र श्री आराध्य दाहाल र व्यवस्थापन संकायबाट ३.८१ जी.पि.ए प्राप्त गरी संकायबाट सर्बोत्कृष्ट बन्नुभएकी छात्रा सुश्री डोमा शेर्पालाई विशेष उपाधि सहित बधाई ज्ञापन गरियो । साथै नगद पुरस्कारले समेत सम्मान गरियो । सम्मान ग्रहणपछि बोल्दै बिज्ञान संकायबाट सर्बोत्कृष्ट विद्यार्थी आराध्य दाहालले आफ्नो सपना साकार पार्न र उत्कृष्ट नतिजा हासिल गर्न निरन्तर मार्गदर्शन गर्ने गुरुजन तथा विद्यालय परिवारप्रति आभार व्यक्त गर्नुभयो । उहाँले गुरुहरूले देखाएको बाटोमा सधैँ अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।कार्यक्रममा व्यवस्थापन संकायका प्रमुख श्री एकराज कटुवालले स्वागत मन्तव्य राख्दै उत्कृष्ट नतिजा ल्याउने कक्षा १२ का विद्यार्थीहरूलाई बधाई दिनुभयो । उहाँले कक्षा १० उत्तीर्ण गरी आफ्नो उद्देश्य पूरा गर्ने लक्ष्यका साथ अरुणिमामा आएका कक्षा ११ का नयाँ विद्यार्थीहरूलाई हार्दिक स्वागत गर्दै यो सफलताका लागि शिक्षक, विद्यार्थी र सम्पूर्ण अरुणिमा परिवारलाई धन्यवाद दिनुभयो । अरुणिमा मा.वि. का संयोजक÷अरुणिमा कलेजका क्याम्पस प्रमुख श्री केशवप्रसाद जोशीले कार्यक्रमले सिकाइको निरन्तरता, उत्कृष्टताको उत्सव र गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धतालाई झल्काउने बताउनुभयो । उहाँले नयाँ विद्यार्थीहरूलाई कक्षा कोठालाई विचारको प्रयोगशाला, पुस्तकलाई साथी र शिक्षकलाई मार्गदर्शक बनाउन आग्रह गर्नुभयो । प्रतिष्ठानका कार्यकारी प्रधानाध्यापक श्री ईश्वरीप्रसाद लामिछानेले अरुणिमाको ४१ वर्षे गौरवशाली यात्राबारे प्रकाश पार्नुभयो । वि.सं. २०४२ मा स्थापित गैर–नाफामूलक यस निजी शैक्षिक गुठीले “सर्वाङ्गीण व्यक्तित्व विकासका लागि शिक्षा” भन्ने मूल दर्शनका साथ काम गरिरहेको बताउनुभयो । उहाँले विद्यार्थीको शारीरिक, बौद्धिक, भावात्मक, सामाजिक–सांस्कृतिक र आध्यात्मिक गरी पाँच मुख्य पक्षको विकासमा जोड दिइएको जानकारी दिनुभयो । यस अवसरमा प्रतिष्ठानले आफ्ना दिवंगत संरक्षक स्व. बुद्धिबहादुर थापा (अमिर थापा) प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको थियो । अरुणिमा कलेजका प्रोग्राम म्यानेजर श्री प्रविण भट्टराईले बाँसको हलक्क बढ्ने जीवनचक्रको उदाहरण दिँदै विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो । धेरै वर्षको मेहनतपछि अबका ४–५ वर्ष करियर निर्माणका लागि तीव्र गतिमा अघि बढ्ने समय भएको उल्लेख गर्दै उहाँले कहिल्यै सिक्न र आफैँलाई सुधार्न नछाड्न आग्रह गर्नुभयो । कार्यक्रममा विद्यार्थीहरूद्वारा नेपाली मौलिक संस्कृति र परम्परा झल्काउने करिब २० वटा विविध सांस्कृतिक नृत्य तथा गायन प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो, जसले हलको माहोल निकै उत्साहजनक बनाएको थियो ।
कार्यक्रमको अन्त्यमा सभापतिको आसनबाट बोल्दै श्री शम्भुप्रसाद बडालले भव्य कार्यक्रम आयोजना गरेकोमा आयोजक विद्यार्थी तथा कर्मचारीहरूलाई धन्यवाद दिनुभयो । उहाँले १२ का उत्तीर्ण विद्यार्थीहरूलाई एउटै परिवारको सदस्यका रूपमा स्मरण गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो ।

प्रतिक्रिया