images

टाटा नेक्सन इभीको ब्याट्रीमा गम्भीर समस्याः ‘कम्पनीको प्रचार एउटा, वास्तविकता अर्कै’

काठमाण्डौ । टाटा कम्पनीको विद्युतीय गाडी नेक्सन इभीका प्रयोगकर्ताहरुले निकै ठूला समस्याहरु भोगिरहेका छन् । 

भारतदेखि नेपालका सडकहरुमा निकै धेरै गुड्ने र ग्राहकको रोजाईमा परेको भनिएको टाटाको नेक्सन इभी मा ब्याट्रीको गम्भीर समस्या देखिन थालेको हो । 

यो गाडीको ब्याट्री म्यानेजमेन्ट सिस्टम निकै कम गुणस्तरको रहेको र यात्राको क्रममा पटक–पटक दुःख पाएको गाडीका प्रयोग कर्ताहरुले बताउने गरेका छन् । 

ब्याट्रीको वारेन्टी र ग्यारेण्टी भए पनि एकपटक काम नगरेपछि त्यसलाई रिप्लेस गर्न हप्तौं समय लाग्ने, रिप्लेस गरेको ब्याट्रीमै पनि समस्या आई फेरि सर्भिस सेन्टर लैजानुपर्ने, गाडी कुदाइरहँदा एकाएक चार्ज डाउन भएर बीच बाटोमै अलपत्र पर्ने, ब्याट्री म्यानेजमेन्ट सिस्टम (बिएमएस)मा गम्भीर गडबडीका कारण रोकिराखेको वा गुडिरहेको नेक्सन इभीमा आगलागी हुनेसम्मका घटनाहरु भएका छन् । तर, यो गाडीका बग्रेल्ती समस्याका बाबजुद कम्पनीले भने टाटाको नेक्सन इभीलाई अब्बल दर्जाको विद्युतीय कार भनी प्रचारप्रसार गरिरहेकै छ । यसकै पछाडि लागेर नेपाली प्रयोगकर्ताले पनि निस्फिक्री नेक्सनको इभी किनिरहेका छन् । 

नेपालमा टाटा कम्पनीका गाडीहरुको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ हो । यो कम्पनीले नेक्सन इभीमा दैनिकजसो आइरहेको ब्याट्रीसँग सम्बन्धित गुनासोहरुको यथासक्य सम्बोधन गर्न सकेको छैन। 

कम्पनीस्थित एक स्रोतकाअनुसार भारतबाट नेपाल पठाइने गाडीहरुमा भारतमा गुड्नेभन्दा कमजोर ब्याट्री तथा ब्याट्री म्यानेजमेन्ट सिस्टम(बिएमएस) राखिएको छ । यसले समेत नेपालका सडकमा गुड्ने टाटा नेक्सन इभीमा ठूला समस्या देखिएका र त्यस्ता दैनिक गुनासोको व्यवस्थापन गर्न कम्पनी असफल बनिरहेको छ । 

भारतका एक प्रयोगकर्ता हरिकृष्ण स्वामीले टाटा नेक्सन इभीको विषयमा गुनासो गर्दै आफ्नो ब्लगमा भनेका छन्–‘ब्याट्रीमा पटक–पटक समस्या आउने रहेछ । ९५ प्रतिशत ब्याट्रीको साथ पनि, यसको प्रणालीले शून्य ब्याट्री पावर पत्ता लगाइरहेको छ। प्रणालीले कारलाई लिम्प मोडमा लक गर्यो । हामी कार एक इञ्च सार्न सक्षम छैनौं, स्टेयरिङ ह्वील लक छ। यो कार नकिन्नुहोस्।’

टाटाको नेक्सन इभी खरीद गर्ने नेपालका कैयौ मानिसले पनि यसको ब्याट्री सिस्टम, चार्जिङ प्रक्रिया लगायतमा गम्भीर समस्याहरु भोगेका छन् । 

भारतको एक मिडिया रिपोर्टकाअनुसार धेरै नेक्सन इभी खरीद गर्नेहरुले गाडीको चार्ज स्टेट(एसओसी)मा अचानक गिरावटका कारण समस्याको सामना गरेका छन् । कतिपयले त यो समस्या १० दिनमै दुईपटक समेत सामना गरेका छन् । ब्याट्रीले सतप्रतिशत तलबाट ३० प्रतिशत चार्जसम्म पूर्ण रुपमा काम गर्ने बताइएको भए पनि त्यसपछि एसओसी द्रूत रुपमा घट्ने समस्या बारम्बार देखिने गर्छ । ड्रपको तुलना गर्दा, एक प्रयोगकर्ताले याद गरे कि उनको कारले ३० प्रतिशतभन्दा माथिको प्रत्येक एक प्रतिशत चार्जमा लगभग २ किलोमिटर कभर गर्दछ । यसले ३० प्रतिशतभन्दा कम चार्जमा प्रत्येक १ प्रतिशतमा केही सयमिटर मात्र कभरको व्यवस्थापन गर्छ । एउटा उदाहरणमा उसको नेक्सन इभीले अन्तिम २८ प्रतिशत सांकेतिक चार्जका साथ मात्र ९ किलोमिटर यात्रा गर्यो, ती प्रयोगकर्ता लगभग घनाजंगलबीचको बाटोमा अलपत्र नै पर्नुपर्यो । 

‘एसओसीलाई २० प्रतिशतभन्दा तल झार्ने र रातभर ढिलो चार्जरमा गाडी चार्ज गर्ने जस्ता व्याट्रीको आयु लम्ब्याउने उत्कृष्ट अभ्यासहरुको पालना गरे पनि, समस्या कायमै रह्यो । यो ध्यान दिन लायक छ कि टाटा मोटर्सले यी इभी ब्याट्रीहरु उत्पादन गर्दैन, तिनीहरु बाह्य निर्माताबाट खरीद गरिएका छन् ।’ टाटाको नेक्सन इभी प्रयोग गरेर हैरानी खेपेका गाडी कम्पनीमै कार्यरत एक भारतीय युवाले अर्को ब्लगमा लेखेका छन् ।

तुलनात्मक रुपमा निस्प्रभावी मोटर
एमजीको इजेडएस र ह्यूण्डाईको कोना इलेक्ट्रिकको तुलनामा टाटा नेक्सन इभीको मोटर एकदमै निस्प्रभावी रहेको छ । ३९.२ किलोवाट क्षमताको ब्याट्रीका लागि कोनाले ३५० किलोमिटरको वास्तविक यात्रा गराउँछ, जबकि नेक्सनमा ३०.२ किलोवाटमा केही सानो ब्याट्री उपलब्ध हुन्छ, तर २५० किलोमिटर यात्रा समेत सम्भव हुन्न । 

प्राविधिकहरुका अनुसार बोर्डमा एसी चार्जर मात्र ३.३ किलोवाटको छ, त्यसैले तपाईले उच्च पावर(३.३ किलोवाटभन्दा बढी) भएका छिटो एसी चार्जरमा राख्नुभयो भने पनि गाडीले छिटो चार्जिङको फाइदा लिन सक्नेछैन । 

‘यसको डिसी चार्जिङ पनि २५ किलोवाटमा सीमित छ । यो खराब भने होइन । तर, जेड एस र कोना जस्तै ५० किलोवाटको चार्ज गर्ने क्षमता भने यसमा छैन ।’ टाटाको नेपालस्थित सर्भिस सेन्टरमा काम गर्ने एक मेकानिक्सले बिजशालासँग भने–‘र, अहिले मलाई लाग्छ कि टाटा मोटर्स(कम्पनी)सँग अझै पनि ब्याट्रीको विषयमा ग्राहकलाई विश्वस्त पार्ने कुनै आधार वा पूर्वाधार छैन । उनीहरुले उत्पादन गरेर बजारमा पठाउने इभी गाडीहरुको विश्वसनीयता पनि शंकास्पद छ ।’

लामो समयदेखि टाटाको नेक्सन इभी चढ्दै आएका नेपालका एक बैंकरले पनि आफूले पटक–पटक ब्याट्रीको समस्या भोगेको बताएका छन्।

‘कहिलेकाही मलाई टाटाको इभी किनेर गल्ती गरेको महसुस हुन्छ । साथै, मैले १५० किमीभन्दा माथिको दायरा कहिल्यै पाएको छैन । तर, कम्पनीले २३० देखि ३०० किलोमिटरको दाबी गर्छ, जुन बेतुकको कुरा हो ।’ उनले भने । 

पानी परे ब्याट्री ड्यामेज !
घटना केही महिना अगाडिको हो । सिप्रदीले नेपालका लागि भनेर टाटाको नेक्सन इभी गाडी भन्सार जाँच पास गरी ल्याएको थियो । भैरहवामा ती गाडीहरु राखिएका थिए । तर, राखिएको ठाउँमा ठूलो वर्षा भएपछि पानी जम्मा भयो । एक रात पानीमा डूबेका टाटा नेक्सनका ८ वटा इभी काम नलाग्ने भए । सिप्रदीले ती ८ वटै गाडीलाई भैरहवाबाट भारततर्फ फर्काएको थियो । 

स्रोतकाअनुसार भैरहवाको यो घटना एउटा सामान्य दृष्टान्त मात्र हो । नेपालको संघीय राजधानी काठमाण्डौ लगायतका मुख्य सिटीहरुमा वर्षाको समयमा पानीको भेल बग्छ । टाटाले उत्पादन गरी नेपालमा बिक्रीवितरण गरिरहेका विद्युतीय गाडीको ब्याट्री म्यानेजमेन्ट सिस्टम(बिएमएस) यति कमजोर छ कि थोरै पानी पर्यो भने त्यसले काम गर्दैन । ‘यो विषयलाई कम्पनीले लुकाउँदै आएको छ।’ नेक्सन इभीका प्रयोगकर्ता नेपालको एक बीमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृतले बिजशालासँग भने–‘इभी भनेर टाटा लगायतका कम्पनीले जसरी गाडीहरु नेपालमा भित्र्याएका छन् । तिनीहरुको ब्याट्रीमा ठूलो समस्या छ । एकपटक ब्याट्री काम लागेन र फेर्नुपर्यो भने १२ लाख रुपैयाँभन्दा बढीको बजेट आउने रहेछ । यो त प्रयोगकर्तालाई इभीको नाममा जानाजान फसाएजस्तो भयो ।’

आफूले कम्पनीका आधिकारिक प्रतिनिधिसँग कुरा गर्दा ब्याट्रीमा समस्या रहेको र पानीबाट जोगाउनुपर्ने सुझाव दिइने गरेको उनले बताए । ‘यसैबाट पनि पुष्टि हुन्छ कि नेपालमा बढी मन पराइएको भनिएको टाटाको नेक्सन इभी, टियागो र अन्य कम्पनीका विद्युतीय गाडी अरु देशमा पाइनेजस्तो गुणस्तरका छैनन् ।’ उनले थपे–‘अमेरिकातिर टेस्लाको इभी पानीमुनि नै कुदाउँदा समेत केही हुन्न । यहाँका अधिकांश इभीको बिएमएसमा सामान्य पानी परे काम गर्दैन ।’

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठसँग नेक्सन लगायतका टाटाका इभीमा गम्भीर ब्याट्रीको समस्या देखिएको र प्रयोगकर्ताले धेरै दुःख पाएका विषयमा प्रतिक्रिया लिन खोज्दा उनले आफूलाई समग्र विषय थाहा नहुने बताए । ‘निजी चारपांग्रे गाडीको युनिट हेर्ने हेडलाई फोन गर्न लगाउँछु, उहाँले नै समस्याको विषयमा क्लियर पार्नुहुन्छ ।’–बिजशालासँग उनले भने । 

बिहीबार ४ असोज २०८० ०१:२३ PM मा प्रकाशित

प्रतिक्रिया