झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नं ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटघाट गर्दै छन् ।जिल्ला पार्टी सचिव तुलसी कार्कीका अनुसार गौरादह नगरपालिका ५ स्कूलचौनको नमुना कृषि खेतीको सभाहलमा कार्यकर्ताहरुसँग भेटघाटको कार्यक्रम तय गरिएको छ ।अध्यक्ष ओलीले गौरादह नगरपालिकाका ८ वटा र गौरीगञ्जका ६ वटा वडाका वडा कमिटीसँग अलग अलग भेटघाट गर्ने कार्यक्रम रहेको कार्कीले जानकारी दिए।वडाका पदाधिकारी तथा सदस्यहरुले मतदाताको मनस्थिती, विकासको अवस्था र पार्टी कामका बारेमा अध्यक्ष ओलीलाई जानकारी गराउने छन् ।कार्यकर्ताको गुनासो, पार्टीको नीति, देशको आवश्यकता र झापा ५ का लागि आफूले गरेका योगदान आदीका बारेमा कार्यकर्तालाई जानकारी गराउने छन् ।अध्यक्ष ओलीले आजै भदौ २४ गते जेनजीका नाममा आगलागी र तोडफोड गरिएका संरचनाको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको छ । उक्त आन्दोलनमा गौरादह नगरपालिका, नगरपालिका १, ७ र २ नं वडा कार्यलय, मुख्यमन्त्री हिक्मत कार्की, मेयर छत्रपति सुवेदी, उपमेयर जलवर्षा राजवंशी लगायतको घरमा आगजनी गरिएको थियो ।अध्यक्ष ओलीले दमक नगरपालिका र कमल गाउँपालिकाका वडा कमिटीहरुसँग अलग अलग छलफल गरिसकेका छन् भने अब हरेक वडा कमिटीहरुले अध्यक्षसँग अलग अलग भेट गर्ने व्यवस्था मिलाइएको कार्कीले जानकारी दिए
प्रतिक्रिया