ओसाका, जापान । जापानमा रहेका नेपाली खेलप्रेमीहरूलाई लक्षित गर्दै बेनी एफसीले आगामी जुन ६, २०२६ मा ‘छैटौं बेनी कप–२०२६’ फुटसल टुर्नामेन्ट प्रतियोगिता आयोजना गर्ने भएको छ। स्वास्थ्यका लागि खेलकुदू भन्ने मुल नाराकासाथ विगत छ वर्ष देखि जापानको ओसाकामा बेनी फुटबल क्लबले निरन्तर रुपमा संचालन गर्दै आइरहेको बेनी एफसी फुटसल टुर्नामेन्ट यस वर्ष पनि हुने क्लबका म्यानेजर मनोज बानिँयाले जानकारी दिए ।
प्रतियोगिता ओसाकाको चुरुमी क्षेत्रमा रहेको फुट मेस्से मैदानमा आयोजना गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले मे ३० तारिखसम्म दर्ता गरिसक्नुपर्नेछ भने टाइ–सिट मे ३१ मा सार्वजनिक गरिनेछ।
प्रतियोगिताको विजेताले नगद ४ लाख ८० हजार येनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेताले २ लाख येनसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने व्यवस्था गरिएको छ। यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता प्रत्येकलाई ५ हजार येन नगदसहित ट्रफी प्रदान गरिनेछ। मुख्य प्रायोजकका रूपमा सोल्टी मार्ट रहेको छ भने मिडिया पार्टनरका रूपमा अर्थ संवाद डटकम र गोल जापान डट कम संलग्न छन्।
प्रतियोगिताको टिम दर्ता शुल्क ४० हजार येन तोकिएको छ। खेलमा यस पटक पनि जापान स्थित करिब २८ वटा नेपाली फुटबल क्लबहरुको सहभागिता रहने बताईएको छ । खेल संचालनको लागि टाईसिट छिटै सार्वजनिक गरिने म्यानेजर बाँनियाले बताए ।
प्रतिक्रिया