चलचित्र ‘छक्का पञ्जा ४’ले मनायो ५१ औं दिन, १६ वटा हलमा अझै प्रदर्शन

काठमाडौं - आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र ‘छक्का पञ्जा ४’ ले शनिबार प्रदर्शनको ५१ औं दिन मनाएको छ ।

गत फागुन १९ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रले शनिबार देशभरका १६ वटा हलमा ५१ औं दिन मनाएको चलचित्रका अभिनेता तथा निर्माता दीपकराज गिरीले बताएका हुन् ।

डिजिटल युगमा आजभोलि नेपाली चलचित्रलाई एक साता पनि हलमा टिक्न हम्मे हम्मे पर्छ । यद्यपि, वर्षमा एकाध चलचित्रले प्रदर्शनको ५१ औं दिन मनाउने गरेका छन् । यसरी हलमा नेपाली चलचित्रले ५१ औं दिन मनाउनु सामान्य मानिदैन ।

राजनीतिक विषयमा केन्द्रित चलचित्रले विवाहेत्तर सम्बन्ध, सरकारी कार्यालयमा हुने भष्ट्राचार तथा ढिलासुस्ती, बेरोजगारी, मिटरब्याजीलगायतका विभिन्न पक्षलाई समेटेर प्रस्तुत गरेको छ ।