images

रामेछापमा ससुराले गरे ज्वाइँको हत्या

रामेछाप । रामेछाप जिल्लाको दोम्बा शैलुङ गाउँपालिका–४ मा आफ्नै ज्वाइँको हत्या गरी फरार रहेका एक वृद्धालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।प्रहरीका अनुसार हिजो सोमबार ससुरालीमा कोसेली लिएर पुगेका ज्वाइँ प्रेमबहादुर तामाङलाई बाटोमा हिँड्दै गरेका बेला ६० वर्षीय ससुरा वीरबहादुर तामाङले प्रहार गर्दा उनको मृत्यु भएको हो ।घटनापछि फरार रहेका वीरबहादुरलाई मंगलबार बिहान करिब ७ः३० बजे सोही वडाको खारपानी भन्ने स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख भोला कुमार भट्टले जानकारी दिए ।प्रारम्भिक अनुसन्धानका क्रममा ठूलो विवाद नदेखिएको प्रहरीले जनाएको छ । ‘ससुरालीमा दाजुभाइबीच सामान्य पारिवारिक विवाद रहेको र कसको घरमा जाने, कसकोमा नजाने भन्ने विषयमा झगडा हुँदा ससुराले सामान्य तरिकाले हातैले प्रहार गर्दा ज्वाइँको ज्यान गएको देखिन्छ,’ डीएसपी भट्टले भने ।प्रहरीका अनुसार ज्यान मार्ने स्पष्ट नियत नदेखिए पनि घटनामा प्रेमबहादुरको मृत्यु भएको छ । पक्राउ परेका वीरबहादुरलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मन्थली ल्याइएको छ ।घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

मङ्गलबार १० चैत २०८२ ०४:२६ PM मा प्रकाशित

प्रतिक्रिया