images

साफ महिला च्याम्पियनसिप ः बंगलादेश समूह विजेता बन्दै सेमिफाइनलमा 

काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बंगलादेशले भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै समूह ‘ए’बाट विजेताको हैसियतमा सेमिफाइनलमा स्थान पक्का गरेको हो । यो समूहबाट भारत उप विजेताको हैसियतमा सेमिफाइनलमा पुग्दा पाकिस्तान भने बाहिरिएको छ । बंगलादेशको चार अंक भएको छ भने भारतको तीन अंक रहेको छ । पाकिस्तान भने एक अंकसहित प्रतियोगिताबाट बाहिरिन पुग्यो । बंगलादेश र भारतबीचको बुधबारको खेलमा सबै गोल पहिलो हाफमा निस्किएका थिए । बंगलादेशका लागि तोहुरा खातुनले २ गोल गर्दा अफिला खान्दाकरले एक गोल गरिन् । भारतकी बाला देवीले गरेको गोल सान्त्वनामा परिणत भयो । बंगलादेशले १८औं मिनेटमा अग्रता लिएको थियो । जब कप्तान सविना खातुनको कर्नरमा भारतीय गोलरक्षकको कमजोरीको फाइदा उठाउँदै अफिदा खान्दाकरले गोल गर्दै अग्रता दिलाइन् । २९औं मिनेटमा बंगलादेशका लागि ऋतु पूर्णा चक्माले गरेको क्रसमा तोहुरा खातुनले गोल गर्दै अग्रता दोब्बर पारिन । ४३औं मिनेटमा तोहुराले व्यक्तिगत दोस्रो गोल गर्दा बंगलादेश ३–० ले अघि बढेको थियो । ४४ औं मिनेटमा भारतकी बाला देवीले गोल गर्दै अन्तर कम गरिन् । तर, दोस्रो हाफमा थप गोल नभएपछि अन्ततः बंगलादेश ३–१ को जीतका साथ समूह विजेता बन्न सफल भयो । यसैबीच, नेपाल रहेको समूह बीको खेल विहीबार हुने छ । नेपालले विहीबार श्रीलंकासँग खेल्दा भुटान र माल्दिभ्स आमने सामने हुने छन् । 
०००
 

बिहीबार ८ कात्तिक २०८१ ०७:३९ AM मा प्रकाशित

प्रतिक्रिया