images

कोपा अमेरिका ः ब्राजिल र कोस्टारिकाले अंक बाँडे

काठमाडौं । कोपा अमेरिका २०२४ मा ब्राजिल र कोस्टारिकाले अंक बाँडेका छन् ।समूह डीमा रहेका यी दुई टिमले गोलरहित बराबरी खेल्दै तालिकामा एक– एक अंक लिएका हुन् ।
खेलको ३० औं मिनेटमा ब्राजिलका मार्किन्होसले गरेको गोललाई भिडिओ एसिस्टेन्ट रेफ्री (भार)ले मान्यता नदिँदा अग्रता लिन चुकेको थियो । ७३ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखे पनि ब्राजिलले गोल गर्न नसक्दा एक अंकमा चित्त बुझायो ।
बराबरीसँगै पहिलो खेलमा एक –एक अंक जोडेको ब्राजिल देस्रो तथा कोस्टारिका तेस्रो स्थानमा छ ।
यही समूहमा रहेको अर्को खेलमा कोलम्बिायाले विजयी सुरुआत गरेको छ । मंगलबार बिहान सकिएको खेलमा समूह डीमा रहेको कोलम्बियाले पाराग्वेलाई २–१ गोल अन्तरले पराजित गरेको हो । कोलम्बियाको जितमा डेनियल मुनोज र जेफरसन लेर्माले एक– एक गोल गर्दा पाराग्वेका लागि जुलियो इनसियोले एक गोल फर्काए ।
३२ औं मिनेटमा जेम्स रोड्रिगेजको पासमा डेनियल मुनोजले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।
४२ औं मिनेटमा रोड्रिगेजकै पासमा जेफरसनले गोल गर्दै अग्रता दोब्बर बनाए । ६९ औं मिनेटमा पाराग्वेका लागि जुलियो इनसियोले रामोन सोसाको पासमा गोल गर्दै अन्तर कम गरे पनि हार टार्न त्यो गोल पर्याप्त भएन ।
जितसँगै कोलम्बिाले समूह डीमा ३ अंक लिएर शीर्ष स्थानमा छ ।

मङ्गलबार १२ असार २०८१ ०५:१८ PM मा प्रकाशित

प्रतिक्रिया