images

धादिङको खनियाबासमा मंसिर २६–२७ मा निःशुल्क विशेषज्ञ चिकित्सा सेवा

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले धादिङको खनियाबास–४, दार्खास्थित खनियाबास ग्रामीण अस्पतालमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। शिविर मंसिर २६ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तथा मंसिर २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुने संस्थाले जानकारी दिएको छ।

उक्त शिविरमा जनरल फिजिसियन, महिला रोग विशेषज्ञ, दन्त (डेन्टल) रोग विशेषज्ञ तथा हड्डी–जोर्नी रोग विशेषज्ञहरुले सेवा प्रदान गर्नेछन्। स्वास्थ्य शिविर सञ्चालनमा धादिङ समाज अमेरिकाले सहकार्य गर्ने भएको छ भने मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालले प्राविधिक सहयोग पुर्‍याउने जनाइएको छ। साथै, शिविर सफल बनाउन खनियाबास गाउँपालिका, डेपिन (DEPIN) धादिङ तथा स्थानीय स्वयंसेवी समूहहरूको सहयोग रहनेछ।

स्वास्थ्य शिविरबारे जानकारी दिँदै अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खनालले ग्रामीण बस्तीका नागरिकलाई घरमै नजिक विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। यस्तै, महासचिव बाबुकाजी भण्डारीले यो पहल खनियाबास तथा आसपासका बासिन्दाका लागि प्रत्यक्ष लाभदायी हुने तथा ग्रामीण स्वास्थ्य पहुँच विस्तारको दृष्टिले महत्वपूर्ण कदम भएको टिप्पणी गर्नुभयो।

मङ्गलबार ९ मंसिर २०८२ ०९:३८ AM मा प्रकाशित

प्रतिक्रिया