images

मन्त्री पदको लोभ त्यागेर निर्वाचनको मैदानमा आएको हुँ स् ऋषि धमला


रौतहट । रौतहट क्षेत्र नम्बर ४ बाट आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिएका चर्चित सञ्चारकर्मी ऋषि धमलाले आफू मन्त्री पदको लोभ त्यागेर निर्वाचनको मैदानमा उत्रिएको दाबी गरेका छन् ।बिहीबार रौतहटको चन्द्रनिगाहपुरमा स्थानीय पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो राजनीतिक यात्रा सत्ताका लागि नभई देश परिवर्तनका लागि भएको स्पष्ट पारेका हुन् । धमलाका अनुसार, वर्तमान प्रधानमन्त्री सुशीला कार्की र ‘जेनजी’ आन्दोलनका अगुवाहरूले आफूलाई मन्त्री बन्न बारम्बार आग्रह गरे पनि उनले त्यसलाई अस्वीकार गरेका थिए ।‘मन्त्री पद मेरा लागि ठुलो कुरा होइन, म सत्ताको लागि होइन, जनताको अवस्था बदल्न राजनीतिमा आएको हुँ’ उनले भने । आफूलाई शक्ति र पदको कुनै लालसा नरहेको र केवल विकासका लागि रौतहट आएको उनले बताए।रौतहटको गरिबी र अशिक्षा हटाउन आफूले सक्रिय भूमिका खेल्ने र देशलाई नयाँ दिशा दिने उनको दाबी छ ।बिहानदेखि मध्यरातसम्म जनताको घरदैलोमा पुगेर उनीहरूका समस्या सुन्दै आएको उनले बताए । उनले प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट मोबाइल फोन चुनाव चिह्न लिएर चुनावी प्रतिस्पर्धामा होमिएका छन् । पत्रकारिता क्षेत्रबाट लामो अनुभव बटुलेका धमलाको रौतहट–४ मा उम्मेदवारीसँगै यस क्षेत्रको चुनावी माहोल निकै रोचक बनेको छ ।उनले आफू विजयी भए रौतहटलाई नमुना जिल्ला बनाउने र भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

बिहीबार १४ फागुन २०८२ १२:२१ PM मा प्रकाशित

प्रतिक्रिया