दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रीता थापामगर, वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा

धादिङ -राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी रीता थापामगर सर्वसम्मत निर्वाचित भएकी छन्।

शुक्रबारदेखि धादिङबेँसीमा जारी प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन्। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको नामावलीअनुसार थापाका विरुद्ध उम्मेदवारी नै नपरेपछि उनी सर्वसम्मत बनेकी हुन् ।

उनी प्रत्यक्ष दोहोरी गीतबाट चर्चामा थिइन् । लोक तथा दोहोरी क्षेत्रमा दशकअघिदेखि तल्लीन थापामगरले यसअघि प्रतिष्ठानको विभिन्न पदमा रहेर काम गरिसकेकी छन् ।

प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा स्याङ्जाका पशुपति शर्मा र प्रथम उपाध्यक्षमा रामजी खाण सर्वसम्मत भएका छन् । साङ्गठनिक उपाध्यक्षमा सुवास केसी, प्रशासनिक उपाध्यक्षमा दीपक खड्का र महिला उपाध्यक्षमा राधिका हमाल पनि सर्वसम्मत निर्वाचित भएका छन् ।

सात जनाको खुला उपाध्यक्षमा भने १० जनाको उम्मेदवारी परेको छ । खुला उपाध्यक्षमा पुष्कल शर्मा, राजु ढकाल, चोलेन्द्र पौडेल, कृष्ण रेउले, खुमन अधिकारी, कुलेन्द्र विश्वकर्मा, पूर्णकला विसी, शङ्कर विसी र तारापति सुवेदीको उम्मेदवारी परेको छ ।

प्रतिष्ठानको महासचिवमा शिव हमाल सर्वसम्मत बनेका छन् । उपमहासचिवमा हरि डाँगी प्रशासनिक र शिरीष देवकोटा साङ्गठनिक र कोषाध्यक्षमा अमृत अधिकारी सर्वसम्मत चयन भएका छन् । त्यस्तै महिला सचिवमा जमुना राना सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै सात प्रदेशमध्ये भूगोल सचिवमा पनि गण्डकी प्रदेशबाहेक सबै प्रदेशबाट आउने सचिव पदमा सर्वसम्मत भएको छ । गण्डकी प्रदेशबाट भने तीन जनाको उम्मेदवारी परेको छ । तीन जनाको खुला सचिव पदमा पनि पाँच र दुई जनाको तथा सहकोषाध्यक्ष खुला पदमा तीन जनाको उम्मेदवारी परेको छ ।