प्रधानमन्त्रीको दोहा भ्रमण किन रोकियो ?

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दोहा भ्रमण स्थगित भएको छ । उनी अतिकम विकसित मुलुकहरू एलडीसीजको पाँचौँ सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको थियो ।

मुलुकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको प्रक्रिया सुरु भइरहेको र सो सन्दर्भमा दलहरूबीच विभिन्न छलफल गर्नुपर्नेलगायत व्यस्तताका कारण दोहा भ्रमण स्थगित भएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी हुन फागुन १९ गते मार्च ३ तारिख त्यसतर्फ प्रस्थान गर्ने र फागुन २२ गते स्वदेश फर्कने कार्यक्रम तय भएको थियो । प्रधानमन्त्री दाहालको सम्मेलनमा सहभागिता र सो अवसरमा हुने भेटवार्ताका बारेमा आज बिहान परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो । रासस