सन्दीपले विदेश जान पाउने, तत्काल जेल बस्न नपर्ने

काठमाण्डौँ - सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले उच्च अदालत, पाटनले दिएको आदेशलाई उल्टाएको हो। लामिछानेलाई विदेश जान अनुमति दिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए।

बालिका बलात्कारको अभियोगमा जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। त्यसका विरुद्ध लामिछाने उच्च अदालत, पाटन पुगेका थिए।

उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। त्यससँगै उनलाई विदेश जान रोक लगाएको थियो।

त्यसका विरुद्ध लामिछानेले सर्वोच्चमा निवेदन दिएका थिए। निवेदनमा विदेश जान पाउनुपर्ने माग गरिएको थियो। सर्वोच्चले उनको माग बमोजिम आदेश दिएको छ।

उच्च अदालतको आदेश विरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पनि सर्वोच्चमा निवेदन दिएको थियो। निवेदनमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश माग गरिएको थियो। तर, सर्वोच्चले महान्यायाधिवक्ताको कार्यालयको माग बमोजिम आदेश दिन अस्वीकार गरेको हो।