राष्ट्रपति निर्वाचन : आज उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुने

 काठमाडौँ - राष्ट्रपति निर्वाचनअन्तर्गत आज फागुन १६ गते, मंगलबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुँदै छ। निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार मंगलबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुन लागेको हो। 

आज सुरुमा उम्मेदवारमध्ये कसैले चाहेमा नाम फिर्ताको समय दिइनेछ। नाम फिर्ता लिन चाहने उम्मेदवारका लागि मंगलबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय छ। 

उम्मेदवारहरुले नाम फिर्ता लिने समय सकिएपछि अन्तिम नामावली प्रकाशन गरिने छ।  नेपालको तेस्रो राष्ट्रपतिका लागि २ जनाको उम्मेदवार परेको छ। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी दिएका छन्। 

पौडेललाई कांग्रेसहित सत्तारुढ दल नेकपा माओवादी केन्द्रसमेत ८ दलको समर्थन छ। राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदान स्थल तोकिएको छ। मतदानका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा नै २ वटा मतदान केन्द्रहरु हुनेछन्। 

राष्ट्रपति निर्वाचनका लागि संघीय संसद्, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य ५५० र ७ वटै प्रदेश सभाका सदस्य ३३२ गरी ८८२ मतदाता रहेका छन्।