काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा बंगलादेश नेसनलिस्ट पार्टीकी अध्यक्ष बेगम खालिदा जियाको मंगलबार बिहान निधन भएको छ । ढाकास्थित एभरकेयर अस्पतालमा उपचाररत अवस्थामा उनको ८० वर्षको उमेरमा मृत्यु भएको नेसनलिस्ट पार्टीले जनाएको छ ।पार्टीका अनुसार स्थानीय समयअनुसार बिहान करिब ६ बजे, फजरको नमाजपछि खालिदा जियाको निधन भएको हो । नेस्नलिस्ट पार्टीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उनको मृत्युको पुष्टि गर्दै आत्माको शान्तिका लागि प्रार्थना गर्न सबैसँग आग्रह गरेको छ ।खालिदा जियालाई नोभेम्बर २३ मा फोक्सोको संक्रमणका कारण एभरकेयर अस्पतालमा भर्ना गरिएको थियो । उनी लामो समयदेखि मुटुरोग, मधुमेह, गठिया, कलेजोको सिरोसिस तथा मिर्गौला सम्बन्धी समस्यालगायत विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिइन् । यसै महिनाको सुरुमा उनलाई थप उपचारका लागि लन्डन पठाइएको थियो ।
प्रतिक्रिया