images

नेपाल निर्माण व्यवसायी महासंघको विशेष साधारण सभा सम्पन्न

काठमाडौं ।  संविधान सभा सदस्य जीप छिरिङ लामाले मुलुकको निर्माण उद्योग समस्याग्रस्त रहेको बताउनु भएको छ । राजधानीमा शुक्रवार नेपाल निर्माण व्यवसायी महासंघको विशेष साधारण सभाको उद्घाटन गर्दै लामाले अहिलेको विषम परिस्थितिमा साना—ठूला सबै निर्माण व्यवसायी समस्यमा रहेको बताउनुभयो । महासंघका मानार्थ सदस्य एवं पूर्व अध्यक्ष समेत रहनु भएका लामाले निर्माण व्यवसायीहरू एकतावद्ध भएर आफ्‌नो हक अधिकारका लागि लड्ने बेला आएको धारणा राख्नुभयो । लामाले कांग्रेस तथा नेकपा एमाले जस्ता शक्तिशाली दलको सरकार रहेको वर्तमान अवस्थामा ठोस ढंगले निर्माण उद्योगको समस्या सरोकारवाला निकाय समक्ष प्रस्तुत गर्नुपर्ने बताउनुभयो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आफ्‌नो नेतृत्वको कार्य समितिले निर्माण उद्योगको समस्या समाधान गर्न इमान्दार प्रयास गरिरहेको जानकारी दिनुभयो । साना ठूला सबै किसिमका निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्ने गरी महासंघको वर्तमान नेतृत्वले काम गरिरहेको अध्यक्ष सिंहले बताउनुभयो । ‘निर्माण व्यवसायीहरू एक भएर अघि बढेमा निर्माण उद्योगका जस्तो सुकै समस्या पनि समाधान गर्न सकिन्छ’ अध्यक्ष सिंहले भन्नुभयो । विशेष साधारण सभा आयोजना गर्नुका कारण बारे प्रष्ट पार्दै अध्यक्ष सिंहले महासंघको २६ औं साधारण सभा तथा १३ औं अधिवेशन २०८२ को माघ १५, १६ र १७ गते गर्ने प्रस्ताव गर्नुभयो । महासंघका सल्लाहकार एवं पूर्व अध्यक्ष सुकुन्तलाल हिराचनले अव्यवहारिक ऐन, नियम तथा मूल्यवृद्धि, म्याद थपमा देखिएको जटिलता लगायतका समस्याबाट निर्माण उद्योग आक्रान्त रहेको टिप्पणी गर्नुभयो । विशेष साधारण सभामा प्रतिवेदन पेश गर्दै महासचिव रोशन दाहालले महासंघका अहिलेसम्मका उपलब्धि तथा भावी कार्यक्रमहरू सार्वजनिक गर्नुभयो । कोषाध्यक्षको तर्फबाट हिरणकुमार श्रेष्ठले प्रतिवेदन पेश गर्नु भएको थियो । विशेष साधारण सभाले महासचिव दाहाल तथा कोषाध्यक्ष श्रेष्ठको प्रतिवेदन पास गरेको छ । विशेष साधारण सभाकै अवसरमा महासंघको मुखपत्र ‘निर्माण समाचार’ को प्रमुख अतिथि जीप छिरिङ लामा र महासंघका अध्यक्ष रवि सिंहले संयुक्त रुपमा विमोचन गर्नु भएको थियो । विशेष साधारण सभामा ७३ जिल्लाका करीब एक हजार प्रतिनिधिहरूको सहभागिता रहेको थियो । देशभरका निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघमा २४ हजार भन्दा बढी व्यवसायी आबद्ध छन् ।

आइतबार​ १५ भदौ २०८२ ११:४८ AM मा प्रकाशित

प्रतिक्रिया