टोकियो, जापान । राष्ट्रपति रामचन्द्र पौडेल जापान सरकारको निमन्त्रणामा चारदिने औपचारिक भ्रमणका लागि जापान आएका छन। राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा जापानमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन जापाना आएका हुन।
टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानका विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा तथा जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेललगायतले स्वागत गरेका थिए।
जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले माघ १९ गते सोमबार जापान सरकारले आयोजना गर्ने नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी हुनेछन।
त्यस्तै, माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेट तथा जापानका प्रधानमन्त्री ताकाइची सानाएसँग भेटवार्ता हुने कार्यक्रम तय भएको छ। साथै, जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि राष्ट्रपति पौडेलको शिष्टाचार भेटवार्ता हुने कार्यक्रम रहेको छ।
भ्रमणका अवसरमा राष्ट्रपति पौडेल जापानी व्यावसायिक समुदायसँग अन्तर्क्रिया गर्ने तथा जापानस्थित नेपाली राजदूतावासले उहाँको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी राष्ट्रपति पौडेल सचिवालयले बताएको छ ।
नेपाल र जापानबीच सन् १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले सन् १९६५ मा टोकियोमा र जापानले सन् १९६७ मा काठमाडौँमा आफ्ना दूतावास स्थापना गरेका थिए।
राष्ट्रपति पौडेल चारदिने औपचारिक भ्रमण सम्पन्न गरी माघ २१ गते बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ। पौडेल माघ १८ गते आइतबार राति नेपालबाट जापान प्रस्थान गरेका थिए।