images

माइतीघरबाट श्रम संस्कृति पार्टीले भन्यो : ‘प्रधानमन्त्रीको अभिव्यक्तिपछि सरकार झन् नाङ्गियो’ 

काठमाडौं । श्रम संस्कृति पार्टीले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध शनिवार काठमाडौंमा प्रदर्शन गरेको छ ।  नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित विपरीत रहेको भन्दै श्रम संस्कृति पार्टीले माइतीघरमा खबरदारी सभासहित विरोध प्रदर्शन गरेको हो । उक्त विरोध प्रदर्शनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरे । उनले प्रधानमन्त्रीको भनाइलाई राष्ट्रहितविपरीत भएको दाबी गर्दै त्यस विषयमा अन्य राजनीतिक दलहरूको धारणा पनि सार्वजनिक हुनुपर्ने बताए ।

राईले विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीको अभिव्यक्तिबारे हालसम्म स्पष्ट धारणा सार्वजनिक नगरेको भन्दै प्रश्न उठाए । उनले प्रधानमन्त्रीको भनाइपछि त्यसलाई स्पष्ट पार्ने प्रयास स्वरूप परराष्ट्र मन्त्रालय र सरकारका प्रवक्ताले दिएको प्रतिक्रिया पनि पर्याप्त नभएको टिप्पणी गरे । उनले भने, ‘यस्तो राष्ट्रघाती अभिव्यक्ति सरकार प्रमुखले दिइराख्दाखेरि आजसम्म ठूलो पार्टी, जनताले मत दिएर पठाएको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेसम्म चुइक बोलेको छैन । प्रधानमन्त्रीले बोलेको अभिव्यक्तिविरुद्ध रास्वपाको धारणा के हो यो सोध्न चाहन्छु । प्रधानमन्त्रीज्यूले आफ्नो अभिव्यक्तिपछि नांगिनुभएको छ ।

उहाँले अतिक्रमण भन्न मिल्छ तरु प्रधानमन्त्रीज्यूले यसो भन्न खोज्नुभएको हो भनेर परराष्ट्र मन्त्रालयले ढाकछोप गर्नखोज्यो । सरकारका प्रवक्ताले पनि त्यही ढङ्गले बोल्नुभयो । एउटा गल्ती ढाकछोप गर्न अर्को गल्ती गर्नुहुन्न । त्यो लाजमर्दो कुरा नाङ्गिने कुरा सरकारले गर्नुहुँदैन । त्यो कारणले गर्दाखेरि अब सडकमा आउन बाध्य भएको हो ।’

उनले एउटा गल्तीलाई ढाकछोप गर्न अर्को गल्ती गर्न नहुने उल्लेख गर्दै सरकारले यस विषयमा जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने बताए । सरकारको अभिव्यक्तिप्रति असहमति जनाउन आफूहरू सडकमा उत्रिन बाध्य भएको उनको भनाइ थियो । श्रम संस्कृति पार्टीले सीमा र राष्ट्रिय स्वाभिमानसँग सम्बन्धित विषयमा सरकारको स्पष्ट धारणा र जवाफदेहिता आवश्यक रहेको समेत जनाएको छ । प्रदर्शनमा सहभागीहरूले नेपाली माटोको रक्षा गरौँ, राष्ट्रको सम्मान जोगाऔँ, गैर जिम्मेवारी अभिव्यक्तिको विरोध गरौँ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

शनिबार २३ जेठ २०८३ ०५:५८ PM मा प्रकाशित

प्रतिक्रिया