झापाको झापा गाउँपालिका–१ सालमारामा प्रहरीले १५० ग्राम १४० मिलिग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा मंगलबार उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई जनालाई शङ्का लागेर जाँच गर्ने क्रममा उनीहरूको साथबाट लागू औषध बरामद भएको हो । पक्राउ पर्नेमा झापा गाउँपालिका–१ सालमारा निवासी ३६ वर्षीय नसिम अख्तर मियाँ र सोही स्थानका ३० वर्षीय सलमान मियाँ रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ प्लास्टिकसहित १६६ ग्राम ३४० मिलिग्राम र प्लास्टिकबाहेक १५० ग्राम १४० मिलिग्राम बरामद गरेको जनाएको छ । उक्त पदार्थ लुकाउन प्रयोग गरिएको प्लास्टिकको प्याकेटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जना, बरामद लागू औषध र मोटरसाइकललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिक्रिया