बाजुरा । बाजुराका स्याउ कृषकलाई यो बर्ष पनि स्याउ ढुवानीमा समस्या भएको छ । मार्तडी–कोल्टी सडकखण्ड अवरुद्ध भएको ३ महिनासम्म पनि सञ्चालन हुन नसक्दा यहाँका स्याउ कृषकलाई स्याउ बजारसम्म लिन समस्या भएको हो ।मार्तडी कोल्टी सडक खण्ड ठाउँ–ठाउँमा पहिरोका कारण अवरुद्ध बनेपछि स्याउ ढुवानी गरि बजारसम्म पुर्याउन नसकिने स्थिति बनेको हो । स्याउ ढुवानीमा समस्या भए पछि यहाँका किसानलाई स्याउ बारीमै कुहिने चिन्ताले सताउन थालेको छ । पाकेकै समयमा सडक अवरुद्ध भएपछि अब स्याउ बारीमै कुहिने होकी भन्ने चिन्ता कृषकहरुमा छ ।बारीमा लटरम्म फलेको स्याउ ढुवानी गर्न समस्या भएको बुढिनन्दा नगरपालिका– ९ पाण्डुसैनका स्याउ कृषक पुर रावतले बताए । ‘वर्षभरी मेहनत गरि लाभ लिने बेला स्याउ ढुवानीको चिन्ता थपिएको छ,पिठ्युँमा बोकेर मार्तडी बजारसम्म लैजाउ पनि निकै समस्या भईरहेको छ ,’उनले भने ।बिगत ४ बर्षदेखि स्याउ अनुदानमा ढुवानी गरिँदै आएकोमा यो बर्ष पनि अबको २ हप्ता भित्रै कृषकका स्याउ बारीबाटै अनुदानमा ढुवानी गरिने ज्ञान केन्द्रले जनाएको छ । मार्तडी–कोल्टी सडकखण्ड खुल्न नसके पनि अर्काे विकल्पका साथ कर्णाली करिडोरबाट देशका ठुला शहरमा स्याउ बजारिकरण गरिने बताईएको छ । बाजुरामा फुजी, गोल्डेनरेड, डेलिसियस र स्थानीय जातको स्याउ उत्पादन हुने गरेको छ । जिल्लाको पाण्डुसैन, जुकोट, जगन्नाथ लगायत क्षेत्रमा करिब १ सय ७० हेक्टर क्षेत्रफलमा हरेक वर्ष करिब १ हजार २० मेट्रिक टन स्याउ उत्पादन हुने गरेको छ । जिल्लामा ४१० हेक्टर जमिनमा स्याउ रोपिएकोमा दुई हेक्टर जमिनमा स्याउ फल्ने गरेको जिल्ला कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
प्रतिक्रिया