असोज १०, नुवाकोटको ढुंगेबजारदेखि महत्वपूर्ण व्यापारिक केन्द्र त्रिशुली बजार जोड्ने झोलुङ्गे पुल आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । नेपाल निर्माण व्यवसायी महासंघको आर्थिक सहयोगमा निर्मित पुलको शुक्रवार विहान महासंघका अध्यक्ष निकोलस पाण्डेले उद्घाटन गर्नुभयो । पुल उद्घाटन पछिको कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष पाण्डेले करीब एक महिनामै २ सय ६७ मिटर लामो पुल तयार गरी निर्माण व्यवसायीहरूले उदाहरणीय कार्य गरेको बताउनुभयो । भदौ १० को भोटेकोशीको बाढीपछि नुवाकोट जिल्लाका निर्माण व्यवसायीहरूले आफन्त गुमाउँदाको ठूलो पीडालाई समेत शक्तिमा बदली अत्यन्त छोटो अवधिमै पुल निर्माण गरेका कारण दैनिक हजारौं स्थानीय लाभान्वित भएको जानकारी अध्यक्ष पाण्डेले दिनुभयो । ‘यो पुल निर्माणपछि निर्माण व्यवसायीहरूले समयमै गुणस्तरीय कार्य गर्न सक्दैनन् भन्ने कुराको खण्डन भएको छ’ उद्घाटन समारोहमा अध्यक्ष पाण्डेले बताउनुभयो । उहाँले पुल निर्माणमा संलग्न प्राविधिक तथा मजदुर मित्रहरू धन्यवादको पात्र भएको बताउनुभयो ।
अध्यक्ष पाण्डेले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा पनि देशभरका निर्माण व्यवसायीहरूबाट रु. १० करोड भन्दा बढी रकम जम्मा गरिएको जानकारी दिनुभयो । कर्मचारीतन्त्रले बाधा सिर्जना नगर्ने हो भने मुलुकका निर्माण व्यवसायीहरूले अझ उत्कृष्ट काम गर्न सक्ने अध्यक्ष पाण्डेले बताउनुभयो । राज्य विपतमा परेको समयमा महासंघले विगत देखि नै सबै किसिमको सहयोग गर्दै आएको उहाँले बताउनुभयो । वागमती प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष छत्रबहादुर तामाङले छोटो समयमै हजारौ लाभान्वित हुने गरी पुल निर्माण भएसँगै यस समाजले व्यवसायीलाई हेर्ने दृष्टिकोणमा समेत सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो । उद्घाटन कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजेन्द्र विक्रम सिंह ठकुरी लगायतले सामाजिक उत्तरदायित्व अन्तर्गत महासंघले अहिलेसम्मकै उत्कृष्ट एवं ऐतिहासिक काम गरेको भन्दै प्रशंसा गर्नुभयो । निर्माण व्यवसायी संघ नुवाकोटका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलले महासंघको कार्यबाट राज्यले समेत पाठ सिक्नुपर्ने धारणा राख्नुभयो । उद्घाटन सत्रमा महासंघका वरिष्ठ उपाध्यक्ष रामजी पन्त ‘मुकेश’, उपाध्यक्ष बालकृष्ण थापा, महासचिव शिवहरि घिमिरे, उपमहासचिव सन्तोष साह, कार्य समिति सदस्य सरेन्द्रराज केसी विशेष आमन्त्रित सदस्य ओपेन्द्र कुमार खड्का, महासंघका कार्यालय प्रमुख प्रेम सिंह ऐर लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया