काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन राजधानीमा भेला भएका निर्माण व्यवसायी पृष्ठभूमिका महाधिवेशन प्रतिनिधिहरूको स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कांग्रेसका शीर्ष नेताहरू, निर्माण व्यवसायी तथा देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा पूर्वमाननीय जिपछिरिङ लामा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। नेपाली कांग्रेसका सहमहामन्त्री तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमको सभापतित्व नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष तथा नेपाल निर्माण व्यवसायी महासंघका निवर्तमान अध्यक्ष रवि सिंहले गर्नुभएको थियो। कार्यक्रममा निर्माण व्यवसायी संघ, रौतहटका दुई कार्यकाल अध्यक्ष, नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बन्नुभएका तथा मधेश प्रदेशका पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री नागेन्द्र साह कलवारको पनि उपस्थिति रहेको थियो। कलवार नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश प्रदेश भूगोलतर्फ केन्द्रीय सदस्य पदका उम्मेदवार हुनुहुन्छ। कार्यक्रममा करिब सात सय जनाको सहभागिता रहेको बताइएको छ। कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न नेताहरूले महाधिवेशनमा आफ्नो उम्मेदवारीका पक्षमा मत माग्नुका साथै निर्माण व्यवसायीहरूको संगठित उपस्थिति, भूमिका र संस्थागत शक्तिबारे चर्चा गर्नुभएको थियो।
कार्यक्रममा निर्माण व्यवसायी पृष्ठभूमिबाट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारी दिएका विभिन्न नेताहरूले निर्माण क्षेत्रका समस्या, व्यवसायीका हकहित तथा पूर्वाधार विकासका विषयलाई पार्टीको नीति तथा नेतृत्व तहमा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धतासहित आफूलाई सहयोग र मतदान गर्न महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गर्नुभएको थियो। सो अवसरमा नेपाल निर्माण व्यवसायी महासंघका मानार्थ सदस्य तथा निर्माण व्यवसायी पृष्ठभूमिका कांग्रेस नेताहरूले समेत विभिन्न पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै मत माग्नुभएको थियो। बहादुरसिंह लामाले आदिवासी जनजाति समूहबाट सहमहामन्त्री पदमा, गेल्जे लामाले केन्द्रीय सदस्य पदमा, निवर्तमान अध्यक्ष रवि सिंहले खुला केन्द्रीय सदस्य पदमा तथा नागेन्द्र साह कलवारले मधेश प्रदेश भूगोलतर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको जनाइएको छ। निर्माण व्यवसायी पृष्ठभूमिका उम्मेदवारहरूले निर्माण क्षेत्र मुलुकको आर्थिक तथा पूर्वाधार विकासको महत्वपूर्ण आधार भएकाले व्यवसायीका समस्या, सार्वजनिक खरिद, पूर्वाधार विकास तथा निर्माण क्षेत्रसँग सम्बन्धित नीतिगत विषयलाई पार्टीको नेतृत्व तहमा प्रभावकारी रूपमा उठाउन आफूहरूको उम्मेदवारी रहेको धारणा राख्नुभएको थियो। करिब सात सय निर्माण व्यवसायी तथा कांग्रेस महाधिवेशन प्रतिनिधिको सहभागिता रहेको उक्त कार्यक्रमले १५औँ महाधिवेशनका क्रममा निर्माण व्यवसायी पृष्ठभूमिका प्रतिनिधिहरूबीच भेटघाट, आपसी समन्वय र राजनीतिक सहभागिताबारे छलफल गर्ने अवसर प्रदान गरेको आयोजकहरूले बताएका छन्।
प्रतिक्रिया