images

उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयक प्रतिवेदन पारित

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बन्द सत्रमा उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयसम्बन्धी प्रस्ताव पनि पारित भएको छ । शर्माले प्रस्तुत गरेको प्रस्तावमा लोकतान्त्रिक संस्कृतिमा भइरहेको क्षयलगायत समसामयिक राजनीतिक विषयलाई समेटिएको छ । बन्दसत्रले उक्त प्रस्ताव पारित गरेको हो । प्रस्ताव पारित भएपछि शर्माले कांग्रेसको बन्दसत्रलाई खुला संसारले सुन्ने गरी प्रस्तुत गरिएको भन्दै यसलाई पनि ऐतिहासिक विषयका रूपमा व्याख्या गरे ।  ‘बन्दसत्र पनि खुला संसारले सुन्नेगरी पेश गरेका छौँ। यो पनि ऐतिहासिक हो,’ उनले भने । उनले कांग्रेसले हार र जित दुवै अवस्थामा जनताको कुरा सुन्ने संस्कार विकास गर्नुपर्ने बताए । ‘कांग्रेस सुन्न चाहन्छ, हार्दा र जित्दा पनि हाँस्छ। यस्तो कांग्रेस बनाउन खोजेको हो,’ उनले भने । शर्माले कांग्रेसलाई गुनासो गर्नेभन्दा आशा, विश्वास र भरोसा गर्न सकिने पार्टीका रूपमा विकास गर्नुपर्ने बताए ।  ‘उत्तर भएको कांग्रेस, भएको कांग्रेस, गुनासो होइन, आशा र विश्वास र भरोसा गर्ने कांग्रेस हो। अब निराशा होइन, यस्तो कांग्रेस बनाउने हो,’ उनले भने । महाधिवेशनबाट कसले कुन पद जित्छ भन्ने विषयमा मात्रै केन्द्रित नहुन प्रतिनिधिहरूलाई आग्रह गर्दै शर्माले कांग्रेसको मूल उद्देश्य पार्टीलाई लोकतान्त्रिक मूल्य र संस्कृतिअनुसार अघि बढाउनु रहेको बताए । ‘कसले के पद जित्छ, लान्छ भनेर नलाग्नुस्,’ उनले भने, ‘लोकतान्त्रिक संस्कृतिको क्षयलाई हामीले उठाउने छौँ ।’ उनले कांग्रेसभित्र लोकतान्त्रिक संस्कृतिलाई थप बलियो बनाउँदै पार्टीलाई जनताले सुन्ने, विश्वास गर्ने र भरोसा गर्ने राजनीतिक शक्तिका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

बुधबार २१ असोज २०८३ ०६:०४ PM मा प्रकाशित

प्रतिक्रिया