काठमाण्डौँ - नेपालमा पहिलो पटक शल्यक्रिया गरेर हात्तीको छावा भाले बच्चा जन्माइएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको हात्ती प्रजनन केन्द्र खोरसोर सौराहामा रहेको ढोई गण्डकीकलीको शल्यक्रिया गरेर छावा पैदा गराइएको हो ।
निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा। विजयकुमार श्रेष्ठको नेतृत्वमा रहेको पशु चिकित्सकको टोलीले हात्तीको शल्यक्रिया गरेको प्रजनन केन्द्रका प्रमुख मनिपुरन महतोले जानकारी दिए। हात्तीको शल्यक्रियामा विदेशी पशु चिकित्सकको पनि सहभागिता थियो । क्यानडाका पशु चिकित्सक डा। निख मास्टर नेपाल भ्रमणमा आएका बेला यो घटना भएपछि उनीको समेत सहयोग लिइएको प्रजनन केन्द्रले जनाएको छ । हात्तीको शल्यक्रियामा संलग्न अन्य चिकित्सकमा डा। अमिर सडौला, विकल्प कार्कीलगायत थिए ।
दुई दिनदेखि बेथा लागेर गण्डकीकलीले छावा जन्माउन सकेकी थिइन । चिकित्सकको टोलीले शल्यक्रिया गरेर छावा निकाल्यो ।
“दुई दिनदेखि बेथा लागेर गण्डकीकलीले छावा जन्माउन सकेकी थिइन । चिकित्सकको टोलीले शल्यक्रिया गरेर छावा निकाल्यो,” डा। श्रेष्ठले भने । उनले नेपालमै पहिलो पटक हात्तीको शल्यक्रिया गरेर छावा निकालिएको बताए ।
“नेपालमा अहिलेसम्म कुनै पनि जङ्गली जनावरको शल्यक्रिया गरेर बच्चा जन्माइएको थिएन । यो नै पहिलो हो,” डा। श्रेष्ठले भने, “बच्चा पेटमै अड्किएपछि हामीले हात्तीको पुठो र योनीको बीचमा करिब २० सेन्टिमिटर चिरेर बच्चा निकालेका हौँ ।”
केही दिन पाठेघरबाट फोहोर पानी निस्किएपछि चिरिएको घाउ दुईरचार दिनमा सिलाइने चिकित्सकले जनाएका छन् । डा। श्रेष्ठले शल्यक्रिया गर्ने क्रममा हात्तीलाई चिर्ने ठाउँमा नदुख्ने र लट्ठ्याउने औषधि दिइएको पनि जानकारी दिए । शल्यक्रिया गरेर बच्चा जन्माइएको गण्डकीकली २५ वर्षकी हो । यो उसको दोस्रो बेत हो । यसअघि करिब तीन वर्षअघि पनि हात्तीको छावा अड्किएर डोरी लगाई निकालिएको थियो । त्यस बेला छावा बचाउन नसकिएको डा। श्रेष्ठले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।