images

विदेशी विश्वविद्यालयको सम्बन्धनमा कडाइ: अब विश्वका उत्कृष्ट १,००० विश्वविद्यालयसँग मात्रै सहकार्य गर्न पाइने

काठमाडौं । सरकारले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न चाहने कलेजका लागि नयाँ योग्यता निर्धारण गरेको छ । अब सम्बन्धन दिने विदेशी विश्वविद्यालय विश्वका उत्कृष्ट १,००० विश्वविद्यालयभित्र परेको हुनुपर्ने व्यवस्था गरिएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ अनुसार अन्तर्राष्ट्रियस्तरमा गुणस्तरीय विश्वविद्यालयसँग मात्र सहकार्य गर्न पाउने व्यवस्था गरिएको हो । यसअघि गुणस्तरका मापदण्ड अपेक्षाकृत लचिलो रहेकामा अब थप कडाइ गरिएको छ ।

नियमावलीले सम्बन्धित कलेजले दुई चरणको क्वालिटी एसुरेन्स एन्ड एक्रिडिटेसन प्रक्रिया पूरा गरेको हुनुपर्ने, पर्याप्त भौतिक पूर्वाधार, दक्ष जनशक्ति तथा शैक्षिक क्षमता प्रमाणित गर्नुपर्ने व्यवस्था पनि गरेको छ । यी आधारमा मात्रै विद्यार्थी भर्ना कोटा निर्धारण गरिनेछ । शिक्षा क्षेत्रका जानकारहरूका अनुसार नयाँ व्यवस्थाले गुणस्तरहीन विदेशी सम्बन्धनका कार्यक्रमलाई निरुत्साहित गर्ने, विद्यार्थीले अन्तर्राष्ट्रियस्तरको शिक्षा पाउने सम्भावना बढाउने तथा उच्च शिक्षामा विश्वास बढाउने अपेक्षा गरिएको छ ।

यद्यपि हाल सञ्चालनमा रहेका केही कलेजले तोकिएका मापदण्ड पूरा गर्न थप लगानी र संरचनात्मक सुधार गर्नुपर्ने अवस्था आउने देखिएको छ । सरकारले त्यस्ता कलेजलाई निश्चित समय दिने र त्यसपछि पनि मापदण्ड पूरा नभए सम्बन्धन नवीकरण रोक्ने, नयाँ विद्यार्थी भर्नामा प्रतिबन्ध लगाउने वा अन्य कानुनी कारबाही गर्ने व्यवस्था गरेको छ ।

बिहीबार २५ असार २०८३ ०५:३२ PM मा प्रकाशित

प्रतिक्रिया