ओसाका, जापान । सुदूरपश्चिमको मौलिक कला, संस्कृति र पहिचानको प्रवर्द्धन गर्दै नेपालका बाढीपीडितलाई सहयोग जुटाउने उद्देश्यले जापानको ओसाकामा आज ‘प्रथम सुदूरपश्चिम सांस्कृतिक साँझ–२०२६’ आयोजना हुँदैछ। ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, बाढीपीडितका लागि हाम्रो अभियान’ भन्ने मूल नारासहित आयोजना हुन लागेको कार्यक्रममा सुदूरपश्चिमका चर्चित गायक चक्र बम र गायिका रेखा जोशीको विशेष सांगीतिक प्रस्तुति रहनेछ।
त्यसैगरी गायक तथा मोडल अंकित सिंह ठकुरी, डान्सर तथा मोडल विशाल शाही र अमन कुँवर, कलाकार प्रविन विश्वकर्मा तथा कार्यक्रम उद्घोषक एवं गायक प्रकाश रसाइलीलगायतको सहभागिता रहने पोस्टरमा उल्लेख छ।
सुदूरपश्चिमेली नेपाली समाज कान्साईको आयोजनामा सोमबार, अक्टोबर १२ मा ओसाकास्थित कोको प्लाजा कोको प्लाजा युथ सेन्टर, सिनओसाकामा कार्यक्रम हुन लागेको हो। कार्यक्रम दिउँसो ४ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
जापानमा हुर्किरहेका नेपाली बालबालिका तथा नयाँ पुस्तालाई आफ्नो जन्मभूमिको संस्कृति र पहिचानसँग जोड्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै, जापानमा रहेका सुदूरपश्चिमेली तथा अन्य नेपाली समुदायबीच आपसी एकता, सद्भाव र सामाजिक सहकार्यलाई बलियो बनाउने लक्ष्यसमेत राखिएको छ।
आयोजकका अनुसार सांस्कृतिक कार्यक्रममार्फत बाढीपहिरोबाट प्रभावित नेपालीका लागि सहयोग अभियान सञ्चालन गरिनेछ। कार्यक्रमबाट खर्च कटाएर बचत भएको रकम नेपालका बाढीपहिरो प्रभावित क्षेत्रका नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने योजना रहेको जनाएको छ।
प्रतिक्रिया