काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनाले देशको पुँजीका रूपमा रहेको युवा शक्तिलाई उद्यमशीलता र नवप्रवर्तनमा जोड्न सरकारले अनुकूल वातावरण निर्माण गरिरहेको बताएका छन्।
शुक्रबार नेपाल बिजनेस इन्स्टिच्युट र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) द्वारा आयोजित पाँचौँ संस्करणको ‘नेपाल युवा उद्यमशीलता सम्मेलन २०२६’ लाई सम्बोधन गर्दै उनले युवाको ज्ञान, सीप, सिर्जनशीलता र प्रविधिको उपयोगबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न सकिने बताए। ‘कुनैपनि देशको सबैभन्दा ठूलो शक्ति र पुँजी भनेको युवा जनशक्ति हो। अनुसन्धान र नवप्रवर्तनमा लगानी नगरी युवालाई स्वदेशमै आफ्ना सपना पूरा गर्न र आर्थिक समुन्नति हासिल गर्न सकिँदैन। त्यसका लागि सरकारले आवश्यक वातावरण बनाउने र निजी क्षेत्रले त्यसमा साथ दिने हो,’ उनले भने। मन्त्री तिमिल्सिनाले सूचना प्रविधिको माध्यमबाट नेपालमै बसेर विश्व बजारमा सेवा प्रदान गर्न सकिने भन्दै युवा जनशक्तिलाई वैदेशिक रोजगारीमा मात्र निर्भर नराखी स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए।
उनले भने,‘अब हामीले श्रम र जनशक्ति होइन, सेवा बेच्ने दिशामा अघि बढ्नुपर्छ। सूचना प्रविधिको माध्यमबाट नेपालमै बसेर विश्वभर सेवा दिन सकिन्छ । यसले युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्नुका साथै मुलुकको अर्थतन्त्रमा समेत योगदान पु¥याउन सक्छ ।’ नेपालमा सूचना प्रविधिका क्षेत्रमा नयाँ जनशक्ति र विज्ञहरू विकास हुँदै गएको उल्लेख गर्दै उनले यसको उपयोग आर्थिक रूपान्तरणका लागि गर्नुपर्ने बताए। त्यसका लागि सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र अन्य सरोकारवाला निकायबीच समन्वय तथा सहकार्य आवश्यक रहेको उनको भनाइ थियो। सूचना प्रविधिको सम्भावना उपयोग गर्न डिजिटल विभाजन अन्त्य गर्ने, इन्टरनेटको पहुँच विस्तार गर्ने र सेवाको गुणस्तर सुधार गर्ने कामलाई सरकारले प्राथमिकता दिएको उनले बताए। दूरसञ्चार क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्ने लक्ष्यसहित सरकारले यसै वर्ष फाइभ–जी सेवा सुरु गर्नेगरी काम गरिरहेको पनि उनले जानकारी दिए।
प्रविधिले काम गर्ने तरिका परिवर्तन गर्न सक्ने भए पनि यसले मानिसको महत्त्व घटाउने नभई क्षमता अभिवृद्धि गर्ने माध्यमका रूपमा प्रयोग गर्नुपर्ने मन्त्री तिमिल्सिनाको धारणा थियो। सरकारले नीति निर्माणमा मात्र सीमित नभई त्यसको प्रभावकारी कार्यान्वयनमार्फत नागरिक र उद्यमीले प्रत्यक्ष लाभ प्राप्त गर्ने वातावरण बनाउने उनले बताए। बदलिँदो श्रम बजारअनुसार युवालाई भविष्यमा आवश्यक पर्ने सीप र क्षमतामा आधारित शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिँदै उनले बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्नु आवश्यक रहेको बताए।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. सुदन झाले कृत्रिम बौद्धिकता (एआई) का क्षेत्रमा नेपालको अवस्था सुधार हुँदै गएपनि अझै कमजोर रहेको बताए। उनले एआई र उद्यमशीलताका क्षेत्रमा नेपाली युवाको सहभागिता बढ्दै गएको तथा सूचना प्रविधिमा लगानी विस्तार भइरहेको उल्लेख गरे । यस अवसरको उपयोग गर्न सरकारले एआईसम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिएको उनको भनाइ थियो।
डा. झाले एआईको उपयोगबाट सरकारी सेवा प्रवाह प्रभावकारी बनाउन, तथ्याङ्कको सुरक्षा सुनिश्चित गर्न, रोजगारीका अवसर सिर्जना गर्न तथा उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने बताए। प्रविधिको सही उपयोगले नेपालको अर्थतन्त्रलाई थप प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने उनले उल्लेख गरे।
प्रतिक्रिया