images

लहानमा निःशुल्क आँखा शिविरको प्रभाव—हजारौंलाई राहत, मोतिबिन्दुका बिरामीलाई घरसम्म सेवा

लहान । सिरहाको लहान नगरपालिकामा सञ्चालन भइरहेको निःशुल्क आँखा उपचार अभियानले स्थानीयस्तरमा सकारात्मक प्रभाव देखाएको छ ।
विशेषगरी मोतिबिन्दुका बिरामीहरूलाई लक्षित गर्दै गरिएको उपचार तथा व्यवस्थापनले विपन्न र ज्येष्ठ नागरिकलाई उल्लेखनीय राहत पुगेको छ । नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत अप्रेसन गराएका बिरामीहरूलाई नगर प्रमुख महेश चौधरी र वडा नम्बर १३ का अध्यक्ष मनोज कोइरालाले अस्पतालमै पुगेर भेटघाट गरेका थिए ।
सो क्रममा बिरामीहरूलाई जुस वितरण गर्दै सम्मानपूर्वक घर पठाइएको थियो । उपचारपछि बिरामीहरूलाई सहज रूपमा घरसम्म पु¥याउन नगर बसको व्यवस्था मिलाइएको थियो, जसले सेवाग्राहीहरूलाई थप सुविधा प्रदान गरेको स्थानीयहरूले बताएका छन् ।
वडा नम्बर १३ मा आयोजित निःशुल्क आँखा जाँच शिविरमा २२० जनाले परीक्षण गराएका थिए। प्राविधिक सहयोग सगरमाथा चौधरी आँखा अस्पतालबाट प्राप्त भएको उक्त शिविरमा ६१ जनामा मोतिबिन्दु देखिएको थियो । तीमध्ये पहिलो चरणमा ५० जनाको सफलतापूर्वक शल्यक्रिया गरिएको छ भने बाँकी बिरामीहरूको पनि छिट्टै उपचार गरिने जनाइएको छ ।
नगर प्रमुख चौधरी निर्वाचित भएपछि सुरु गरिएको यस अभियानले हालसम्म २,४०० भन्दा बढी मोतिबिन्दु अप्रेसन तथा ८,००० भन्दा बढी आँखाका बिरामीहरूको परीक्षण गरिसकेको तथ्यांक सार्वजनिक भएको छ । यसले कार्यक्रमको प्रभावकारिता र आवश्यकता दुवैलाई पुष्टि गरेको छ ।
मेयर चौधरीले आगामी दिनमा नगरका अन्य वडाहरूमा समेत यस्ता शिविर विस्तार गर्ने योजना रहेको जानकारी दिँदै स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पु¥याउने लक्ष्यलाई प्राथमिकता दिइएको बताए । स्थानीयवासीहरूले निःशुल्क उपचार, अस्पतालको सहकार्य तथा नगरपालिकाको व्यवस्थापनप्रति सन्तुष्टि व्यक्त गर्दै यस्तो अभियानले विशेषगरी आर्थिक रूपमा कमजोर वर्गका लागि ठूलो सहयोग पुगेको बताएका छन् ।

शनिबार २८ चैत २०८२ ०७:१० PM मा प्रकाशित

प्रतिक्रिया