images

नयाँ आयोजना भन्दा रुग्ण परियोजनामा प्राथमिकतामा स्मन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नयाँ आयोजना सुरु गर्नु भन्दा वर्षौंदेखि अलपत्र परेका आयोजनाहरूलाई प्राथमिकतामा राखेर सम्पन्न गर्ने नीति लिइने बताएका छन्।
शुक्रबार जलस्रोत तथा सिँचाइ विभाग का अधिकारीहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले समस्या पहिचान गरी समाधानतर्फ अघि बढ्नुपर्नेमा जोड दिँदै मातहतका निकायलाई परिणाममुखी काम गर्न निर्देशन दिएका हुन्। उनले जिम्मेवारी निर्वाह नै मुख्य कुरा भएको उल्लेख गर्दै चालु आर्थिक वर्षको बाँकी अवधिमा जनताले सुधारको अनुभूति गर्ने गरी काम गर्न आग्रह गरे।
उनका अनुसार विकास आयोजनामा देखिएका समस्या केवल बजेटमा सीमित नभई व्यवस्थापन, संरचना र प्रक्रियासँग पनि जोडिएका छन्। वैदेशिक मुद्राको मूल्यवृद्धिले परियोजनामा पार्ने असर अझै पूर्णरूपमा नदेखिएको उल्लेख गर्दै उनले समयमै आयोजना सम्पन्न गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए।
छलफलमा जलस्रोत सचिव सरिता दवाडी ले जग्गा प्राप्ति र रुख कटानजस्ता समस्याका कारण सिँचाइ आयोजना ढिलो हुने गरेको बताउँदै राष्ट्रिय गौरवका आयोजनालाई विशेष प्राथमिकता दिनुपर्ने धारणा राखिन्।
हाल विभागअन्तर्गत बबई, सिक्टा, रानी जमरा कुलरिया र सुनकोसी–मरिन डाइभर्सनसहित ६ वटा राष्ट्रिय गौरवका आयोजना सञ्चालनमा रहेका छन्। विभागले २१५ वटा ठेक्कामार्फत काम गरिरहेकोमा ३३ वटा समस्याग्रस्त ठेक्का रहेको र त्यसमध्ये २२ वटा ठेक्का तोडिएको महानिर्देशक मित्र बराल ले जानकारी दिए।
चालु आर्थिक वर्षमा विभागको समग्र वित्तीय प्रगति करिब २९ प्रतिशत मात्रै रहेको छ।

शनिबार २८ चैत २०८२ ०१:१० PM मा प्रकाशित

प्रतिक्रिया