images

मकवानपुरमा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको सरोकारवालाको निष्कर्ष

हेटौँडा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मकवानपुरमा समग्र रूपमा शान्तिपूर्ण, भयरहित र व्यवस्थित ढंगले सम्पन्न भएको सरोकारवालाले निष्कर्ष निकालेका छन् । राजनीतिक दल, उम्मेदवार, सुरक्षाकर्मी, कर्मचारी तथा सञ्चारकर्मीबीचको सहकार्यका कारण निर्वाचन सफलतापूर्वक सम्पन्न भएको उनीहरूको भनाइ छ ।दुवै निर्वाचन क्षेत्रको प्रत्यक्ष तथा समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएपछि प्रदेश निर्वाचन कार्यालयले बुधबार जिल्ला प्रशासन कार्यालयको सभाहलमा निर्वाचन समीक्षा कार्यक्रम आयोजना गरेको थियो ।कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले सबै पक्षको सक्रिय सहयोग र जिम्मेवार भूमिकाका कारण निर्वाचन सहज रूपमा सम्पन्न भएको बताइन् । उनका अनुसार राजनीतिक दलहरूले आचारसंहिताको पालना गरेका, सञ्चारमाध्यमले सन्तुलित रूपमा समाचार सम्प्रेषण गरेका तथा कर्मचारी र सुरक्षा निकायले प्रभावकारी रूपमा जिम्मेवारी निर्वाह गरेकाले निर्वाचन व्यवस्थापनमा सहयोग पुगेको थियो ।श्रेष्ठले दलहरूबीच कायम रहेको सहकार्य र सद्भावले निर्वाचन प्रक्रियालाई थप व्यवस्थित बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन् । निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यले मकवानपुरमा सम्पन्न निर्वाचन अन्य जिल्लाका लागि पनि अनुकरणीय बनेको बताए । सुरुवाती चरणमा केही स्थानमा आचारसंहिता उल्लङ्घनका घटना देखिए पनि अन्त्यतिर सबै पक्षले नियम पालना गरेकाले निर्वाचन प्रक्रिया व्यवस्थित रूपमा अघि बढेको उनले बताए ।प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले निर्वाचन अधिकृतको कार्यालय स्थापना भएदेखि मत परिणाम सार्वजनिक हुने चरणसम्म सबै निकायबाट प्रभावकारी सहयोग प्राप्त भएको बताए । छोटो समयमै सबै निकायबीचको समन्वयले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।उनले भविष्यमा मतदान प्रक्रियालाई अझ सहज र प्रभावकारी बनाउन डिजिटल मतदान प्रणालीतर्फ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । पुरानै प्रणालीका कारण मतदान प्रक्रिया केही जटिल हुने भएकाले प्रविधिमैत्री निर्वाचन प्रणाली विकास गर्नुपर्ने उनले बताए ।समीक्षा कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी, तीनवटै सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, गैरसरकारी संस्था महासङ्घ, नागरिक समाज, उम्मेदवार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले आगामी निर्वाचनलाई अझ पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउन विभिन्न सुझावहरू पनि प्रस्तुत गरेका थिए ।

बिहीबार २८ फागुन २०८२ ११:३० AM मा प्रकाशित

प्रतिक्रिया