टोकियो । जापानमा लामो समयदेखि सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय समाजसेवी तथा व्यवसायी ददिवल खड्काले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ।
सन् २०२५–२०२७ कार्यकालका लागि उम्मेदवारी घोषणा गर्दै खड्काले विदेशमा रहेका नेपालीहरूको हकहित संरक्षण, प्रवासी नेपालीहरूको सीप, अनुभव र पूँजीलाई नेपालमा लगानीतर्फ आकर्षित गर्ने तथा विश्वभर रहेका नेपाली समुदायबीच सहकार्य र एकता सुदृढ गर्ने लक्ष्यसहित नेतृत्वमा आउन चाहेको बताउनुभएको छ।
जापानस्थित नेपाली समुदायमा सक्रिय अभियन्ताका रूपमा परिचित खड्का डेढ दशकभन्दा बढी समयदेखि एनआरएनए अभियानसँग जोडिँदै आउनुभएको छ। उहाँ सन् २०१७–२०१९ मा एनआरएनए जापानको सल्लाहकार, २०१९–२०२१ मा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्य तथा २०२१–२०२३ मा एनआरएनए एसिया–प्यासिफिक क्षेत्रको उपसंयोजकको जिम्मेवारी सम्हालिसक्नुभएको छ।
सामाजिक अभियान, सांस्कृतिक कार्यक्रम तथा समुदायिक गतिविधिमा सक्रिय खड्काले संस्थालाई अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउँदै प्रवासी नेपालीहरूको साझा हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
गैरआवासीय नेपाली संघको १२औँ महाधिवेशन आगामी मार्च १४ देखि १६ सम्म काठमाडौंमा आयोजना हुँदैछ। उक्त महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने कार्यक्रम रहेको छ।
प्रतिक्रिया