images

दोलखा उद्योग वाणिज्य संघको अध्यक्षमा सनत थापाको उम्मेदवारी घोषणा

दोलखा उद्योग वाणिज्य संघको २०८३ वैशाख ३१ गते हुने १६औँ अधिवेशनका लागि व्यवसायी सनत थापाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

उम्मेदवारी घोषणासँगै थापाले “समृद्ध दोलखाका लागि” भन्ने मूल नारासहित व्यवसायीमैत्री वातावरण निर्माण, सशक्त संस्थागत नेतृत्व, पारदर्शी र जवाफदेही संघ, उद्यमशीलताको प्रवर्द्धन तथा स्थानीय उत्पादन र स्थानीय व्यापारको संरक्षण तथा विकासलाई आफ्नो प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले दोलखाको आर्थिक तथा व्यावसायिक विकासका लागि निजी क्षेत्रको भूमिका थप प्रभावकारी बनाउने, व्यवसायीहरूबीच एकता कायम गर्दै संघलाई थप सशक्त बनाउने लक्ष्यसहित आफू चुनावी मैदानमा उत्रिएको बताएका छन्।

थापाले सम्पूर्ण उद्योगी, व्यवसायी तथा संघका सदस्यहरूलाई अत्यधिक मतका साथ विजयी गराउन आग्रह गर्दै “हाम्रो प्रतिबद्धता, हाम्रो एकता — समृद्ध दोलखा” भन्ने अभियानलाई सफल बनाउन सहयोगको अपिल गरेका छन्।

आगामी अधिवेशनलाई दोलखाको निजी क्षेत्रको नेतृत्व चयनसँगै जिल्लाको आर्थिक विकासको दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

मङ्गलबार २९ बैशाख २०८३ १२:३४ PM मा प्रकाशित

प्रतिक्रिया