images

‘‘सार्वजनिक खरिद ऐन २०६३ को दोस्रो संशोधन पूर्वाधार क्षेत्रको विकासका लागि कोशेढुंगा’

काठमाडौं । मुलुकको पूर्वाधार क्षेत्रलाई गतिदिने गरी नेपाल सरकारले सार्वजनिक खरिद ऐन २०६३ को दोस्रो संशोधन जारी गरेकोमा यस महासंघ नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछ । ‘लो बिडिङ’ मार्फत् ठेक्का हालेर काम लिने प्रथाको अन्त्य गरी औसत विधिबाट ठेक्का प्राप्त गर्ने नियम उक्त दोस्रो संशोधनमा उल्लेख हुनु अत्यन्त सकारात्मक भएको र यसबाट पूर्वाधार क्षेत्रमा देखिएका अधिकांश समस्याहरू समाधान हुने यस महासंघको विश्वास रहेको छ । महासंघको वर्तमान कार्य समितिको अथक प्रयासपछि सार्वजनिक गरिएको उक्त संशोधन पूर्वाधार क्षेत्रको विकासका लागि कोशेढुंगा सावित भई निर्माण व्यवसायमा नयाँ अध्याय शुरु हुनेमा महासंघ विश्वस्त छ । ऐनमा उल्लेख भए बमोजिम बजेट विनियोजन वा स्रोत सुनिश्चित नभई खरिद प्रक्रिया शुरु गर्न नपाइने, जग्गा, मुआब्जा, निर्माणस्थल र वातावरणीय स्वीकृति पूरा भएपछि मात्र बोलपत्र आव्हान गरिने, सरकारद्वारा स्वीकृत मापदण्ड अनुसार लागत अनुमान तयार गर्नुपर्ने, नियोक्ता, निर्माण व्यवसायी, आपूर्तिकर्ता र परामर्शदाताको जिम्मेवारी स्पष्ट रुपमा तोकिनु, समयै गुणस्तरीय काम सम्पन्न गरेमा सम्बन्धित कर्मचारीलाई प्रोत्साहन, बोनस तथा अन्य सुविधा दिने, निर्माण व्यवसायीलाई पनि तोकिए बमोजिमको प्रोत्साहन र प्रशंसा पत्र दिने, कार्य सम्पादन जमानत पाँच प्रतिशत मात्र राख्ने, कम्पनी एकीकृत भएमा दुवैको योग्यता गणना हुने, बोलपत्र पेश गर्ने समय घटाइनु, सार्वजनिक खरिद पुनरावलोकन समितिको निर्णय कार्यान्वयन बाध्यात्मक बनाइनु, लगायतका व्यवस्थाले पूर्वाधार क्षेत्रलाई व्यवस्थित एवं मर्यादित बनाउने यस महासंघको दृढ विश्वास रहेको छ । यसरी सार्वजनिक खरिद ऐन २०६३ को दोस्रो संशोधनलाई पूर्वाधारमैत्री हुने गरी तर्जुमा गर्न विशेष पहल गर्नु हुने सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय पूर्वाधार विकास मन्त्रीज्यू सहित उक्त प्रक्रियामा अहोरात्र खटिने राष्ट्रसेवक अधिकारीहरू सहित संशोधनका सन्दर्भमा रचनात्मक सर—सल्लाह उपलब्ध गराउने सबैलाई यस महासंघ विशेष धन्यवाद दिन चाहन्छ । साथै अब निकट भविष्यमै जारी हुने सार्वजनिक खरिद नियमावलीको संशोधनमा सबै अवधिका खरिद सम्झौताहरूको मूल्य समायोजन हुने व्यवस्थाका लागि महासंघ सरकार समक्ष अनुरोध गर्दछ । 

मङ्गलबार ३० असार २०८३ ०७:२३ PM मा प्रकाशित

प्रतिक्रिया