images

जेठ २१ भित्र कांग्रेस सदस्यता अद्यावधिक गर्न निर्देशन, अनलाइन प्रणालीबाट फारम भर्न सकिने

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, नवीकरण र अद्यावधिक कार्य आगामी जेठ २१ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्न निर्देशन दिएको छ । पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बिहीबार ललितपुरस्थित केन्द्रीय कार्यालय बी।पी। स्मृति भवनमा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठक पार्टीका महामन्त्री तथा समितिका संयोजक प्रदीप पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।बैठकले सदस्यता अभिलेखीकरणलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्दै नेपाली कांग्रेसलाई सबैभन्दा बलियो सदस्य नेटवर्क भएको पार्टी बनाउने उद्देश्यसहित विभिन्न डिजिटल माध्यम प्रयोगमा ल्याइएको जनाएको छ । अब प्रत्येक क्रियाशील सदस्यले आफ्नै मोबाइलबाट अनलाइनमार्फत फारम भरेर सदस्यता अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको छ । यसका लागि पार्टीको सदस्यता पोर्टलमा ‘स्वयं सदस्यता आवेदन फारम’ उपलब्ध गराइएको समितिले जनाएको छ ।अनलाइन अद्यावधिकका क्रममा समस्या आएमा ९७०१२५५५५५ नम्बरमा सम्पर्क गरी एआई सहायतामार्फत सहयोग लिन सकिने व्यवस्था गरिएको छ। त्यस्तै, केन्द्रीय कार्यालयको डिजिटल सहायता केन्द्रका ९७१२०५६३५१ र ९७१२०५६३५२ नम्बरमा सम्पर्क गरेर पनि समस्या समाधान गर्न सकिने जनाइएको छ । सोही नम्बरमा फोन गर्दा सोधिने प्रश्नावलीको उत्तर दिएर फोनबाटै अद्यावधिक फारम भर्ने सुविधा समेत उपलब्ध गराइएको समितिले जनाएको छ ।विदेशस्थित नेपाली कांग्रेससँग आवद्ध ‘नेपाली जनसम्पर्क समिति’हरूका लागि पनि ‘स्वयं सदस्यता आवेदन फारम’ उपलब्ध गराइएको छ ।समितिले सदस्यता अद्यावधिक नगर्ने तथा कांग्रेस परिचयपत्र ९एनसी आईडी० प्राप्त नगर्ने व्यक्तिले पार्टीको १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुन नपाउने विधानमा व्यवस्था रहेको उल्लेख गर्दै तोकिएको समयभित्रै अद्यावधिक प्रक्रिया पूरा गर्न मातहत तहलाई निर्देशन दिएको छ ।

शुक्रबार​ १ जेठ २०८३ ११:४५ AM मा प्रकाशित

प्रतिक्रिया