काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र स्पेनका युवा स्टार लामिन यामालबीचको सम्बन्ध झण्डै दुई दशक पुरानो एउटा ऐतिहासिक तस्बिरले फेरि चर्चामा ल्याएको छ ।
सन् २००८ मा खिचिएको मेस्सी र बच्चा यामालको उक्त तस्बिर अहिले २०२६ फिफा विश्वकप फाइनलअघि विश्वभर भाइरल बनेको छ । मेस्सीले पनि उक्त तस्बिरको संयोगलाई ‘अविश्वसनीय’ भन्दै प्रतिक्रिया दिएका छन् । डी–स्पोट्र्सले सार्वजनिक गरेको भिडियोमा मेस्सीले यामाल सानो बच्चा हुँदा खिचिएको तस्बिर अहिले दुवै खेलाडी विश्वकप फाइनलमा प्रतिस्पर्धा गर्ने अवस्थासम्म आइपुग्नु आश्चर्यजनक भएको बताएका छन् ।
‘साँच्चिकै यो तस्बिर अस्तित्वमा हुनु नै अविश्वसनीय कुरा हो । हामीले यो तस्बिर खिच्दा ऊ केवल एउटा बच्चा थियो र अहिले हामी दुवै विश्वकप फाइनलमा प्रतिस्पर्धा गर्दैछौं । यो सबै कुरा नै अविश्वसनीय छ,’ मेस्सीले भनेका छन् । करिब १८ वर्षअघि बार्सिलोनाका खेलाडी रहेका मेस्सीले क्याटलान पत्रिका डियारियो स्पोर्टले आयोजना गरेको च्यारिटी फोटोसुटमा सहभागी हुँदा यामालसँग भेट गरेका थिए ।
बार्सिलोनाको ऐतिहासिक क्याम्प नोउ रंगशालामा भएको उक्त फोटोसुटमा २० वर्षीय मेस्सीले शिशु अवस्थाका यामाललाई उनकी आमा शिला एबेना नजिकै राखेर तस्बिर खिचाएका थिए ।
त्यतिबेला मेस्सी विश्व फुटबलका उदाउँदा खेलाडी थिए भने यामाल भविष्यमा स्पेनका प्रमुख प्रतिभामध्ये एक बन्ने कुरा कसैले कल्पना गरेका थिएनन् । तर अहिले करिब दुई दशकपछि दुवै खेलाडी विश्वकपको उपाधिका लागि एकअर्काविरुद्ध मैदानमा उत्रने भएका छन् । यो ऐतिहासिक तस्बिर स्वतन्त्र फोटोग्राफर जोन मोनफोर्टले खिचेका थिए । संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)ले समेत उक्त तस्बिर सार्वजनिक गर्दै मेस्सी र यामालको यात्रालाई विशेष रूपमा उल्लेख गरेको छ ।
युनिसेफले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘हो, तपाईंहरूले देख्नुभएको तस्बिर वास्तविक हो । १८ वर्षभन्दा पहिले एउटा बच्चा लामिन यामाल र उनकी आमा शिला मेस्सीसँग युनिसेफको कोष संकलन कार्यक्रममा भेट भएका थिए ।’ युनिसेफले मेस्सी र यामाल दुवै मैदानमा मात्र नभई सामाजिक क्षेत्रमा पनि बालबालिकाको हितका लागि काम गरिरहेको उल्लेख गरेको छ । दुवै खेलाडी युनिसेफका सद्भावना दूतसमेत हुन् ।
यसैबीच, २०२६ फिफा विश्वकपको फाइनलमा साविक विजेता अर्जेन्टिना र युरोपियन च्याम्पियन स्पेन भिड्दैछन् । यो खेलले अनुभवी महान् खेलाडी मेस्सी र किशोर स्टार यामालबीचको पुस्तान्तरणको प्रतीकात्मक भिडन्तसमेत बन्ने अपेक्षा गरिएको छ । स्पेनले सेमिफाइनलमा फ्रान्सलाई २–० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो भने अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले हराउँदै उपाधि भिडन्तमा स्थान बनाएको हो ।
अर्जेन्टिनाको जितमा खेलको अन्तिम समयमा निर्णायक गोल भएको थियो । मेस्सी फाइनलअघि प्रतियोगिताको गोल्डेन बुट दौडमा शीर्ष स्थानमा छन् । इंग्ल्यान्डविरुद्धको सेमिफाइनलमा दुई असिस्ट गरेपछि उनले फ्रान्सका कप्तान किलियन एमबाप्पेलाई समेत पछि पारेका छन् । एएनआई
प्रतिक्रिया