images

सहीद स्मृतिसँग पशुपति युवा क्लव ५–२ गोल अन्तरले पराजित 

हेटौडा । मकवानपुरको बागमती गाउँपालिकाको सहीद स्मृति क्लव जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत समूह ‘घ’ को शीषस्थानमा पुगेको छ ।५ खेलबाट ११ अंक जोड्दै सहीद स्मृतिले समूहको शीर्षमा स्थान बनाएको हो । सिमलटार खेल मैदानमा पाँचौ खेल खेल्ने क्रममा सहीद स्मृतिले पशुपति युवा क्लव हेटौंडालाई ५–२ ले हरायो ।सहीद स्मृतिका लागि उप्रान्त आलेले २ गोल गर्दा किरण घिसिङ, अरुण आले र रमेश थिङले समान एक–एक गोल गरेका हुन् । यता पशुपतिको तर्फबाट अनमोल मोक्तानले २ गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच सहीद स्मृतिका उप्रान्त आले घोषित भए । 
यही समूह अन्तर्गत भएको अर्को खेलमा मनहरी गाउँपालिकाको हाँडीखोला यूथ क्लवले युनाइटेड नाइन हेटौंडासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । 
हाँडीखोलाले पहिलो हाफमा र युनाइटेडले दोस्रो हाफमा गोल गर्ने केही राम्रो मौकाहरु खेर फालेको थियो । योसँगै हाँडीखोलाको ८ र युनाइटेड नाइनको २ अंक भएको छ । खेलको म्यान अफ द म्याच युनाइटेडका सुरेश लामा घोषित भए । त्यसैगरी,  गौरीटार रंगशालामा भएको यही समूह अन्तर्गतको खेलमा प्रतिभा क्लवले एफसी चाइनाक्वाटरलाई ३–० ले हरायो । प्रतिभाले पहिलो हाफमा एक र दोस्रो हाफमा २ गोल गरेको हो ।शोभित वाइबाले १५ औं मिनेटमा गोल गर्दै प्रतिभालाई अग्रता दिलाएका हुन् । ५६ औं मिनेटमा सुनिल थिङले अग्रता दोब्बर पारे । ८० औं मिनेटमा वाइबाले नै टिमको लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरेका हुन् ।२ गोल गरेका वाइबा नै खेलको म्यान अफ द म्याच घोषित भएका छन् । गौरीटार रंगशालामै भएको अर्को खेलमा एफसी इन्टरनेटले एफसी पोतालालाई २–० ले हरायो । इन्टरनेटका लागि २८ औं मिनेटमा मिलन काफ्लेले पहिलो गोल गरेका हुन् । ७५ औं मिनेटमा काफ्लेले नै अग्रता दोब्बर बनाए । खेलको म्यान अफ द म्याच २ गोल गरेका काफ्ले नै घोषित भए ।
 

बुधबार २ असोज २०८१ १२:११ PM मा प्रकाशित

प्रतिक्रिया