एनपीएलमा नेपाल टेलिकमको प्रायोजन, व्यावसायिक प्रवद्र्धनसँगै क्रिकेट विकासमा सहयोग गर्ने उद्देश्य

काठमाडौं । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रायोजन गर्ने सम्बन्धमा सम्झौता गरेको छ । सम्झौतापछि बोल्दै नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत डिल्ली अधिकारीले एनपीएलमा सहभागिताको मुख्य उद्देश्य कम्पनीको ब्रान्ड प्रवद्र्धन गर्नुका साथै नेपाली क्रिकेटको विकासमा संस्थागत सहयोग पुर्याउनु रहेको बताएका छन् । अधिकारीका अनुसार नेपाल टेलिकमले यसअघि पनि विभिन्न चरणमा नेपाल क्रिकेट संघ (क्यान) तथा संघले आयोजना गर्ने क्रिकेट प्रतियोगितामा प्रायोजन गर्दै आएको छ । 

यसअघि क्लबस्तरमा केन्द्रित रहेको सहभागिता यसपटक भने राष्ट्रियस्तरमा व्यावसायिक साझेदारका रूपमा विस्तार गरिएको उनले बताए । दूरसञ्चार सेवा प्रदायकका रूपमा एनपीएलमा विशेष सहभागिता जनाउन पाउनु कम्पनीका लागि महत्त्वपूर्ण अवसर भएको उनको भनाइ छ । उनले भने, ‘नेपाल टेलिकमले यसअघि पनि नेपाल क्रिकेट संघ र यसले आयोजना गर्ने विभिन्न क्रिकेट प्रतियोगितामा प्रायोजन गर्दै आएको छ । यसपटक भने राष्ट्रियस्तरमा दूरसञ्चार सेवा प्रदायकका रूपमा व्यावसायिक साझेदार बनेर एनपीएलमा सहभागी हुन लागेका छौँ। यसको मुख्य उद्देश्य कम्पनीको ब्रान्ड प्रवद्र्धन गर्नुका साथै नेपालमा लोकप्रिय हुँदै गएको क्रिकेटको संस्थागत विकास र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन सहयोग गर्नु हो ।’

उनले एनपीएलको प्रायोजनलाई व्यावसायिक प्रवद्र्धनमा मात्र सीमित नभई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) सँग जोडेर हेरिएको बताए । नेपालमा क्रिकेटको लोकप्रियता बढ्दै गएको अवस्थामा यसको संस्थागत विकास र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा थप उन्नत बनाउन सहयोग पुर्याउने उद्देश्यले प्रायोजन गरिएको उनले स्पष्ट पारे। अधिकारीले एनपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट औपचारिक मान्यता प्राप्त भएको विषयमा नेपाल क्रिकेट संघलाई बधाईसमेत दिए । उनले यसलाई नेपाली क्रिकेटको विकासमा महत्त्वपूर्ण उपलब्धि तथा कोसेढुङ्गाका रूपमा व्याख्या गरे ।

उनले भने, ‘यो प्रायोजनलाई व्यावसायिक प्रवद्र्धनमा मात्र सीमित नराखी संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) का रूपमा पनि हेरेका छौँ । नेपालमा क्रिकेटको लोकप्रियता बढ्दै गएको अवस्थामा यसको संस्थागत विकास र अन्तर्राष्ट्रिय स्तरमा थप उन्नति गर्न एनपीएलमार्फत सहयोग पुग्ने विश्वास लिएका छौँ । एनपीएलले आईसीसीबाट औपचारिक मान्यता प्राप्त गर्नु नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि र कोसेढुङ्गा हो । यसका लागि नेपाल क्रिकेट संघलाई बधाई दिँदै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दछु ।’

आगामी दिनमा एनपीएल अघिल्ला दुई सिजनभन्दा अझ व्यापक, परिष्कृत र दर्शकमाझ लोकप्रिय हुने विश्वास व्यक्त गर्दै अधिकारीले प्रतियोगिताले नेपालसहित अन्तर्राष्ट्रिय क्रिकेट क्षेत्रमा समेत विशिष्ट प्रभाव पार्ने अपेक्षा गरे । उनले एनपीएलको सफलताका लागि नेपाल क्रिकेट संघलाई शुभकामना दिँदै प्रायोजनका लागि नेपाल टेलिकमलाई छनोट गरेकोमा धन्यवाद व्यक्त गरे । एनपीएलमार्फत कम्पनीको व्यावसायिक प्रवद्र्धन र सामाजिक उत्तरदायित्वलाई अघि बढाउने अवसर प्राप्त भएको उल्लेख गर्दै अधिकारीले यस सहकार्यले नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।