काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विभिन्न कार्यक्रमगरी मनाइँदैछ ।नेपाली राजनीतिमा त्याग र साहसको प्रतिकका रूपमा पनि उलाई चिनिने गरिन्छ । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा पनि उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए ।विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो ।उनी विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा सक्रिय भूमिका खेलेका थिए ।उनको स्मृति नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले आज बिहान शोभाभगवतीस्थित सिंहको सालिकमा माल्यार्पण कार्यक्रम आयोजना गरेका छन् ।
प्रतिक्रिया