सर्लाही । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले सर्लाही जिल्ला अदालत र कारागारको अनुगमन गरेका छन् । सोमबार गरिएको अनुगमनका क्रममा मन्त्री महतोले अदालतको सेवा प्रवाह, प्रशासनिक अवस्था, भौतिक पूर्वाधार तथा कारागारको सुरक्षा व्यवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।सचिवालयका अनुसार उनले कारागारभित्र रहेका कैदी बन्दीलाई उपलब्ध गराइँदै आएको स्वास्थ्य सेवा, खानेपानी, सरसफाइ तथा अन्य आधारभूत सुविधाको अवस्थाबारे समेत चासो व्यक्त गरेका हुन् । अनुगमनका क्रममा कारागार प्रशासनले क्षमताभन्दा बढी कैदी बन्दी राख्नुपरेको, पर्याप्त भौतिक संरचना अभाव रहेको तथा व्यवस्थापनमा विभिन्न समस्या रहेको जानकारी मन्त्रीसमक्ष गराएको थियो ।अदालत प्रशासनले पनि सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन स्रोत साधनको अभाव रहेको उल्लेख गरेको बताइएको छ । मन्त्री महतोले न्यायिक सेवा नागरिकमैत्री र प्रभावकारी हुनुपर्नेमा जोड दिँदै अदालत तथा कारागार सुधार प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए ।उनले आवश्यक समन्वय र स्रोत व्यवस्थापनका लागि प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । कैदी बन्दीप्रति कानुनअनुसार मानवीय व्यवहार गर्नुपर्ने उल्लेख गर्दै मन्त्री महतोले आधारभूत सेवा सहज रूपमा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
प्रतिक्रिया